लेखनाथ।
लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा हुने २२औँ लेखनाथ महोत्सव आगामी पुस २ देखि १३ गतेसम्म सञ्चालन हुने भएको छ। ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने नारासहित आयोजना हुने महोत्सवबारे सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।
पत्रकार सम्मेलनमा संघकी अध्यक्ष जानुका पराजुली अधिकारीले विषम आर्थिक परिस्थितिमा महोत्सव आयोजना गर्नु चुनौतीपूर्ण भए पनि सुस्त अर्थतन्त्रलाई चलायमान बनाउन र स्थानीय उत्पादनको बजारीकरणमार्फत कृषकलाई सम्भावनाको बाटो देखाउन महोत्सवलाई निरन्तरता दिइएको बताइन्।
‘वर्तमान परिवेशमा निजी क्षेत्रको मनोबल केही खस्किएको छ। बैंकमा तरलता प्रशस्त भए पनि लगानीमैत्री वातावरण नहुँदा निजी क्षेत्र लगानी गर्न इच्छुक देखिएको छैन,’ उनले भनिन्। उनले अनुगमनका नाममा हुने हैरानी र व्यवसायमैत्री नभएको कर प्रणालीप्रति पनि चिन्ता व्यक्त गरिन्। महोत्सव सिक्ने र सिकाउने थलोका रूपमा विकास हुँदै अनौपचारिक विश्वविद्यालयकै रूपमा स्थापित हुन सफल भएको उनको भनाइ थियो।
महोत्सव प्रचारप्रसार उपसमितिका संयोजक एवं संघका द्वितीय उपाध्यक्ष ध्रुवबाबु भट्टराईले महोत्सवमा औद्योगिक तथा व्यापार मेला, हस्तकला, दैनिक उपभोग्य सामग्री, विद्युतीय उपकरण, फर्निचर, सूचना प्रविधि तथा सञ्चार उपकरणका साथै स्थानीय सुन्तला, माछा, मह, कफी, ताजा तरकारी र दुग्धजन्य उत्पादनको बिक्री तथा प्रदर्शनी गरिने जानकारी दिए।
महोत्सवमा फुड फेस्टिभल, अटोमोबाइल तथा ग्रामीण प्रविधि प्रदर्शनी र कृषि, पर्यटन तथा उद्योगसम्बन्धी संवाद कार्यक्रमसमेत सञ्चालन हुनेछन्। महोत्सवको विशेष आकर्षणका रूपमा ‘एसियाको ज्योति’ तथा शान्तिका दूत गौतम बुद्धको प्रतिमा राखिने उनले बताए।
सांस्कृतिक कार्यक्रमअन्तर्गत विभिन्न जातजातिका रीतिरिवाज तथा सांस्कृतिक प्रदर्शनी, झाँकी र्याली, भेषभूषा प्रदर्शनी, महिला विशेष रत्यौली, विद्यालयस्तरीय नृत्य प्रतियोगिता तथा कवि शिरोमणि लेखनाथ पौड्यालको स्मृतिमा साहित्यिक कार्यक्रम आयोजना गरिनेछ।
यसैगरी पप कन्सर्ट, लाइभ ब्यान्ड, राष्ट्रियस्तरका कलाकारको लोकदोहोरी, हास्यव्यङ्ग्यसहितको स्टेज सो, बाल उद्यान, टिकटक प्रतियोगिता, बृहत् साइकल र्याली तथा उत्कृष्ट स्टल पुरस्कार पनि महोत्सवका आकर्षण रहनेछन्।
महोत्सवमा कुल ३३५ वटा स्टल रहनेछन्। तीमध्ये गार्मेन्ट तथा रेडिमेड कपडा र फुटवेयरका सबैभन्दा बढी ११२ वटा स्टल रहनेछन्। कृषि तथा पशुजन्य वस्तुका ४०, किचन सामग्रीका २६, जनरल २४, फुड एन्ड बेभरेजका १८, खाना महोत्सवका १७, हस्तकलाका १४, शैक्षिक, ग्रामीण प्रविधि तथा कृषि प्रदर्शनीका १३, डेरीका १३, मेसिनरीका १२, नेपाली उत्पादन प्रदर्शनीका १०, अटो प्रदर्शनीका ६ तथा बैंक, वित्तीय संस्था र प्रायोजकका ३० वटा स्टल रहनेछन्।
संघका सदस्यले आफैँ स्टल राखेमा २० प्रतिशत छुटका साथै सामान ढुवानीका लागि थप दुई हजार रुपैयाँ छुट पाउनेछन्। सदस्यका लागि स्टल बुकिङ मंसिर ७ गतेदेखि खुला गरिएको छ भने अन्य व्यवसायीका लागि मंसिर ११ गतेदेखि बुकिङ खुला गरिनेछ।
महोत्सव प्रवेशका लागि विद्यार्थीलाई ५० रुपैयाँ र सर्वसाधारणलाई १०० रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको छ। सुगम सङ्गीत (कन्सर्ट) का लागि भने २०० रुपैयाँ शुल्क लाग्नेछ।
आयोजकले महोत्सवमा करिब दुई लाख ७० हजार दर्शक भित्र्याउने र १२ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य राखेको छ। महोत्सवबाट एक करोड पाँच लाख रुपैयाँ आम्दानी हुने र ८५ लाख रुपैयाँ खर्च भई २० लाख रुपैयाँ बचत हुने अनुमान गरिएको छ।
बचत रकम सात तालको संरक्षण तथा प्रवर्द्धन, नवउद्यमी उत्पादन, उद्यमशीलता विकास, औद्योगिक क्षेत्र निर्माणका लागि पहल, पर्यटन प्रवर्द्धन तथा सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने आयोजकले जनाएको छ।
महोत्सवलाई व्यवस्थित रूपमा सञ्चालन गर्न १० जना निर्देशक, ५५ जना सल्लाहकार, ५० जना उपसमिति संयोजक, ९० जना कार्यसम्पादन समिति सदस्य, १२० जना मूल समारोह समिति सल्लाहकार र ३०० जना मूल समारोह समिति सदस्य रहने गरी विभिन्न समिति गठन गरिएको छ।
महोत्सवका मुख्य प्रायोजक एग्रो थाई फुड्सका तर्फबाट संघका द्वितीय उपाध्यक्ष विक्रम कर्माचार्यले नेपाली उद्योगको विकास र स्वदेशी उत्पादनको प्रवर्द्धनले आयात प्रतिस्थापनमा महत्वपूर्ण योगदान पुर्याउन सक्ने बताए। उनका अनुसार कम्पनीले पाँचवटा प्लान्ट स्थापना गरी उत्पादन गर्दै आएको छ। यसबाट तराईका उखु उत्पादक कृषक लाभान्वित हुनुका साथै विद्युत् खपत बढेको र हजारौँ युवाले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाएको उनले बताए। ‘नेपाली उद्योगले आक्रामक ढङ्गले काम गरे आयात विस्थापन गर्न सकिन्छ,’ उनले भने।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बाँस्तोलाले धन्यवाद ज्ञापन गर्दै महोत्सव सफल बनाउन सञ्चारमाध्यम, उद्योगी–व्यवसायी, नागरिक समाज, विभिन्न संघसंस्था, कलाकार तथा स्थानीयवासीको सहयोग महत्वपूर्ण हुने बताए। उनले सबैलाई महोत्सवमा सहभागी हुन आग्रह गरे। कार्यक्रमको सञ्चालन संघका महासचिव भरतराज ओझाले गरेका थिए।
महोत्सवको आयोजकमा लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघ रहेका छन्। सहआयोजकमा गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश रहेका छन्। पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड प्रवर्द्धक तथा एग्रो थाई फुड्स प्रालि (म्याक्स टाइगर एनर्जी ड्रिङ्क) मुख्य प्रायोजक रहेका छन्।









