समाज रूपान्तरणमा सामाजिक सङ्घसंस्थाको भूमिका महत्त्वपूर्ण : प्रजिअ गुरुङ

सिटी पोखरा डेक्स
  • ख-
  • ख
  • ख+

पोखरा । कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले समाज रूपान्तरणमा सामाजिक सङ्घसंस्थाहरूको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।

पोखरा–८, सिमलचौरस्थित सृजना विकास केन्द्रको ४९औँ वार्षिक साधारणसभा तथा ४६औँ स्थापना दिवसका अवसरमा प्रकाशित ‘सृजना दर्पण–२०८३’ को विमोचन गर्दै उनले समुदायको उत्थान, सामाजिक सचेतना र मानवीय सेवामा सामाजिक संस्थाहरूले पुर्‍याएको योगदान प्रशंसनीय रहेको बताए ।

राज्यले मात्र सबै क्षेत्रमा पहुँच पुर्‍याउन नसक्ने अवस्थामा सामाजिक सङ्घसंस्थाहरूले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, खेलकुद, जनसेवा तथा समुदायको समग्र विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उनले उल्लेख गरे ।

सामाजिक सङ्घसंस्थाहरूलाई अझ पारदर्शी, जबाफदेही र परिणाममुखी भएर काम गर्न सुझाव दिँदै उनले स्थानीय प्रशासन यस्ता संस्थासँग सहकार्य गर्न सधैँ तयार रहेको बताए ।

मानव जीवनलाई सुव्यवस्थित, मर्यादित र सभ्य बनाउन मर्यादा, आचरण र अनुशासन महत्त्वपूर्ण हुने उनको भनाइ थियो । मानिसको पहिलो पाठशाला घर, आमाबुबा र परिवार भएकाले बालबालिकालाई सानैदेखि ठूलालाई आदर गर्ने, सानालाई माया गर्ने, नियम पालना गर्ने र असल व्यवहार गर्ने संस्कार सिकाउनुपर्नेमा उनले जोड दिए ।

विद्यालय, छरछिमेक, साथीसङ्गी तथा समाजका अनुभवी व्यक्तिहरूबाट पनि असल आचरण सिक्न सकिने बताउँदै उनले किताब, जीवनी र आफ्नै अनुभव तथा गल्तीबाट पाठ सिकेर आफूलाई अनुशासित बनाउनुपर्ने धारणा राखे । व्यक्तिगत विकास, सामाजिक सद्भाव र व्यावसायिक सफलताका लागि समेत असल आचरण आवश्यक रहेको उनले बताए ।

कार्यक्रममा संस्थाका अध्यक्ष चन्द्र गिरीले सृजना विकास केन्द्रले सृजना बहिरा विद्यालय, जनप्रिय बहुमुखी क्याम्पसको स्थापना, महिला सशक्तीकरण तथा लघुवित्त कार्यक्रम, सृजना महिला बचत तथा ऋण सहकारी र सृजना खानेपानी परियोजनालगायतका बहुक्षेत्रीय सामुदायिक गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिए ।

पूर्वअध्यक्ष तथा ‘सृजना दर्पण–२०८३’ प्रकाशन समितिका संयोजक हरिप्रसाद बरालले संस्थाको इतिहास र गतिविधिको अभिलेखीकरणमा प्रकाशनले महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए । उनले २०४५ सालमा प्रकाशित ‘पहिलो सृजना स्मारिका’ देखि २०८३ सालको ‘सृजना दर्पण’ सम्मका प्रकाशन संस्थाका महत्त्वपूर्ण सम्पत्ति र ऐतिहासिक अभिलेखका रूपमा रहेको उल्लेख गरे ।

कार्यक्रममा सडक डिभिजन पोखरा तथा मध्यपहाडी राजमार्गका कार्यालय प्रमुख नारायणदत्त भण्डारी, जनप्रिय क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र पहारी, सल्लाहकार समितिका सभापति लीलाधर बराल, संस्थापक अध्यक्ष तथा सल्लाहकार डम्बरबहादुर केसी र सृजना महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष शारदा गिरीले शुभकामना मन्तव्य व्यक्त गरे ।

उनीहरूले संस्थाले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए ।
साधारणसभामा कार्यवाहक महासचिव उर्मिला भट्टराईले संस्थाको वार्षिक प्रगति प्रतिवेदन तथा भावी प्रस्तावित योजना प्रस्तुत गरिन् ।

त्यसैगरी कोषाध्यक्ष अशोककुमार श्रेष्ठले आर्थिक अवस्था र आर्थिक प्रतिवेदन प्रस्तुत गरे । दुवै प्रतिवेदन छलफलपछि सर्वसम्मत रूपमा पारित गरिएको पूर्वअध्यक्ष राजु पौडेलले जानकारी दिए ।

संस्थाका अध्यक्ष चन्द्र गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष बालकृष्ण बरालले स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्यबारे प्रकाश पारे भने सञ्चालन कार्यवाहक महासचिव उर्मिला भट्टराईले गरिन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्