पोखरा। जिल्ला समन्वय समिति (जिसस) कास्कीले पोखराको बाराहीघाटस्थित जग्गा, रत्न मन्दिर र हिमागृहको जग्गा लिजमा नदिन सरकारसँग आग्रह गरेको छ। समितिको शुक्रबार सम्पन्न ५४औँ बैठकले उक्त निर्णय गरेको हो।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले पोखरा महानगरपालिकासहित कास्की जिल्लाभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र संवर्द्धन गर्नु सबैको कर्तव्य भएको बताए।
ऐतिहासिक, प्राकृतिक, पुरातात्त्विक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्नु साझा दायित्व भएको उल्लेख गर्दै उनले पछिल्लो समय सम्पदाको संरक्षण गर्नुको सट्टा अतिक्रमण गर्ने, भाडामा लगाउने तथा लिजमा दिने र लिने गतिविधिप्रति समितिको गम्भीर ध्यानाकर्षण भएको बताए।
यसै सन्दर्भमा नेपाल ट्रस्टको नाममा रहेको पोखराको बाराहीघाटस्थित जग्गा, रत्न मन्दिर र हिमागृहको जग्गा फेवातालको सीमासम्बन्धी मापदण्डभित्र समेत पर्ने उल्लेख गर्दै पौडेलले उक्त जग्गा ३० वर्षका लागि लिजमा दिन लागिएको भन्ने समाचारप्रति समितिको ध्यानाकर्षण भएको बताए।
ऐतिहासिक महत्त्व बोकेका जग्गा तथा सम्पदालाई लिजमा दिने कार्य रोक्न र तिनको उचित संरक्षण तथा व्यवस्थापन गर्न नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको उनले जानकारी दिए।
बैठकले जिल्ला समन्वय समिति कास्कीको पाँचवर्षे कार्यकालमा भएका गतिविधि समेटेर स्मारिका प्रकाशन गर्ने निर्णयसमेत गरेको छ। उक्त जानकारी जिल्ला समन्वय अधिकारी नवराज बरालले दिए।









