राष्ट्रिय कर दिवस तथा कर सप्ताह कार्यक्रम सम्पन्न, धेरै कर तिर्ने करदाता सम्मानित

सिटी पोखरा डेक्स
  • ख-
  • ख
  • ख+

पाेखरा । आन्तरिक राजस्व कार्यालय पोखराले विभिन्न कार्यक्रम आयोजना गरी राष्ट्रिय कर दिवस तथा कर सप्ताह–२०८३ सम्पन्न गरेको छ। “कर न्याय र सुशासनको सुनिश्चितताः समृद्धिमा नागरिक सहभागिता” भन्ने मूल नारासहित सोमबार आयोजित एक कार्यक्रमका बीच राष्ट्रिय कर दिवस तथा कर सप्ताह समापन गरिएको हो।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङले राजस्व सङ्कलनको लक्ष्य प्राप्तिका लागि सम्बन्धित निकायहरूले आफ्नो दायित्व पूरा गर्नुपर्ने बताए। उनले करदाता दर्ता, कर दायित्व, राजस्व दाखिला, दक्षता र करको दायरा वृद्धि गर्ने तथा करका दर घटाउने र उचित दण्ड–जरिवानाको व्यवस्था गर्ने जस्ता कार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

नागरिक तथा व्यवसायीले आफ्नो कर दायित्व इमानदारीपूर्वक पूरा गर्दा राज्यको आर्थिक आधार बलियो हुने उनको भनाइ थियो। करबाट प्राप्त राजस्व नै मुलुकको विकास, सार्वजनिक सेवा प्रवाह र समृद्धिको महत्त्वपूर्ण आधार भएकाले कर तिर्ने संस्कारलाई सबैले आत्मसात् गर्नुपर्ने उनले बताए।

कार्यक्रममा आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिवप्रसाद ढुङ्गानाले कर कानुनको पालना गर्दै राजस्व सङ्कलनमा योगदान पुर्‍याउने करदाताप्रति हार्दिक आभार व्यक्त गरे। उनले कार्यालयबाट प्रदान गरिने सेवामा गुणात्मक परिवर्तन ल्याउने प्रतिबद्धता पनि व्यक्त गरे।

त्यसैगरी, पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष शोभा गौतम, पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष उमराज बास्तोला, स्याङ्जा चेम्बर अफ कमर्सका अध्यक्ष श्री गुरुङलगायत विभिन्न व्यावसायिक सङ्घसंस्थाका पदाधिकारीहरूले कर प्रशासन व्यवसायमैत्री हुनुपर्नेमा जोड दिए। उनीहरूले राज्यले व्यावसायिक वातावरण सुधारका लागि आवश्यक पहल गर्नुपर्ने धारणा राखे।

कर सप्ताहअन्तर्गत विभिन्न कार्यक्रम
कर सप्ताहको पहिलो दिन मङ्सिर १ गते पोखरा सभागृहदेखि आन्तरिक राजस्व कार्यालयसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो। सोही दिन कार्यालय परिसरमा शुभकामना आदानप्रदान कार्यक्रमसमेत गरिएको थियो।

यसैगरी, पहिलो व्यावसायिक स्थायी लेखा नम्बर (प्यान) लिने करदाता टिपटप रेस्टुरेन्टका सञ्चालक अन्जु लोप्चन न्यौपानेलाई सम्मान गरिएको थियो।

सप्ताहको दोस्रो दिन मङ्सिर २ गते लेखनाथ उद्योग वाणिज्य सङ्घमा आबद्ध व्यवसायी, पदाधिकारी तथा सदस्यहरूका बीच कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो।

तेस्रो दिन पनि लेखनाथ उद्योग वाणिज्य सङ्घमा आबद्ध व्यवसायी, पदाधिकारी तथा सदस्यहरूका बीच अन्तरक्रिया कार्यक्रम गरिएको थियो। चौथो दिन स्याङ्जा उद्योग वाणिज्य सङ्घमा आबद्ध व्यवसायी, पदाधिकारी तथा सदस्यहरूका बीच पुतलीबजार, स्याङ्जामा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो।

कर सप्ताहकै अवसरमा पोखरा उद्योग वाणिज्य सङ्घमा आबद्ध व्यवसायीहरूका बीच पनि करदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको थियो।

मैत्रीपूर्ण फुटसल प्रतियोगिता
यसै अवसरमा मैत्रीपूर्ण फुटसल प्रतियोगितासमेत आयोजना गरिएको थियो। प्रतियोगितामा आन्तरिक राजस्व कार्यालय पोखरा, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, पोखरा उद्योग वाणिज्य सङ्घ, पोखरा चेम्बर अफ कमर्स, लेखनाथ उद्योग वाणिज्य सङ्घ, नेपाल अडिटर्स एसोसिएसन (अडान), नेपाल चार्टर्ड एकाउन्टेन्ट्स सङ्घ (एक्यान), पोखरा तथा कर सहयोगी श्रमिक सङ्गठन नेपाल, कास्कीको सहभागिता रहेको थियो।

प्रतियोगितामा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स सङ्घ (एक्यान), कास्कीको टोली प्रथम र आन्तरिक राजस्व कार्यालय पोखराको टोली द्वितीय भएको थियो।

कर सप्ताहमा कर छुटलाई विशेष प्राथमिकता
आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिवप्रसाद ढुङ्गानाले कर सप्ताहका कार्यक्रमहरूमा कर छुटसम्बन्धी सुविधालाई विशेष प्राथमिकताका साथ प्रचारप्रसार गरिएको बताए।

आर्थिक ऐन, २०८३ ले करको दायरामा नआएका करदाता, करको दायरामा आएर पनि आय विवरण दाखिला नगरेका, मूल्य अभिवृद्धि कर (मू.अ.कर) विवरण दाखिला नगरेका तथा कर निर्धारण भई राजस्व दाखिला गर्न बाँकी रहेका करदातालाई विभिन्न छुट तथा सुविधा प्रदान गरेको छ।

कर छुट सुविधा प्राप्त गर्ने अन्तिम म्याद पुस मसान्तसम्म रहेकाले समयमै उक्त सुविधाको सदुपयोग गर्न उनले करदातालाई आग्रह गरे।

धेरै कर तिर्ने करदाता सम्मानित
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय पोखराको कार्यक्षेत्रभित्र रहेका करदातामध्ये सबैभन्दा बढी कर दाखिला गर्ने करदातालाई सम्मान गरिएको थियो।

सम्मानित हुने करदाताहरूमा टेम्पल ट्री रिसोर्ट प्रा.लि., एक्सेस कन्स्ट्रक्सन प्रा.लि. र कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेका छन्।

कात्तिक मसान्तसम्मको राजस्व सङ्कलन
आन्तरिक राजस्व कार्यालय पोखराले कात्तिक मसान्तसम्ममा राजस्व सङ्कलन लक्ष्यको १०४ प्रतिशत राजस्व सङ्कलन गर्न सफल भएको छ।

कार्यालयको वार्षिक राजस्व सङ्कलन लक्ष्य ८ अर्ब ५४ करोड ८७ लाख ८६ हजार रुपैयाँ रहेकोमा कात्तिक मसान्तसम्ममा २ अर्ब ३६ करोड ५ लाख २९ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ।

कार्यालयले कात्तिक मसान्तसम्मका लागि निर्धारित लक्ष्यअनुसार आयकरतर्फ १ अर्ब २६ करोड ८२ लाख ४९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। त्यसैगरी, मूल्य अभिवृद्धि करतर्फ ५४ करोड ९० लाख ९६ हजार रुपैयाँ सङ्कलन गरेको छ।

करदाताको सङ्ख्या
कास्की र स्याङ्जा जिल्लालाई कार्यक्षेत्र बनाएको आन्तरिक राजस्व कार्यालय पोखरामा आयकरतर्फ दर्ता भएका करदाताको सङ्ख्या ९० हजार रहेको छ।

यसैगरी, मूल्य अभिवृद्धि करतर्फ १५ हजार १२० र अन्तःशुल्कतर्फ ५ हजार ५९६ करदाता दर्ता भएका छन्। व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिने करदाताको सङ्ख्या २ लाख ५२ हजार २५२ पुगेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्