पाेखराकाे अन्नपूर्ण आत्मनिर्भर बाल आश्रममा आगलागी, दुई भवन जलेर ध्वस्त

सिटी पोखरा डेक्स
  • ख-
  • ख
  • ख+

पोखरा । पोखरा महानगरपालिका–१६, घार्मीखोलास्थित अन्नपूर्ण आत्मनिर्भर बाल आश्रममा आगलागी हुँदा दुईवटा भवनको माथिल्लो तला पूर्ण रूपमा जलेर नष्ट भएको छ।

मंगलबार दिउँसो करिब ४ः३० बजे अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने आशंका गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी विरेन्द्रकुमार पासवानले जानकारी दिए।

प्रहरीका अनुसार इँटा र बाँसबाट निर्माण गरिएका तथा टिन र मार्बलको छाना भएका दुईतले भवनको माथिल्लो तलामा आगलागीबाट पूर्ण क्षति पुगेको छ। आगलागीमा परी माथिल्लो तलामा राखिएका अन्नपात, फर्निचरलगायतका सामग्रीसमेत जलेर नष्ट भएका छन्।

आगलागीको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षक रामप्रसाद सापकोटाको कमान्डमा १० जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। आगो नियन्त्रणका लागि नेपाली सेनाको टोलीसमेत परिचालन गरिएको थियो।

प्रहरी, दमकल र स्थानीयवासीको संयुक्त प्रयासमा साँझ ५ः३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

आगलागीबाट कुनै मानवीय तथा चौपाया क्षति भने नभएको प्रहरीले स्पष्ट पारेको छ। क्षतिको यकिन विवरण संकलन हुन बाँकी रहे पनि स्थानीयवासी तथा जनप्रतिनिधिको प्रारम्भिक अनुमानअनुसार करिब एक करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको हुन सक्ने जनाइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको र आगलागीबाट भएको क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्