हेमजामा मङ्सिर ५ र ६ गते दोस्रो साहित्य महोत्सव हुने

सिटी पोखरा डेक्स
  • ख-
  • ख
  • ख+

पोखरा । नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्ने उद्देश्यले कास्कीको हेमजामा दोस्रो हेमजा साहित्य महोत्सव–२०८३ आयोजना हुने भएको छ।

हेमजा साहित्य प्रतिष्ठान नेपालको आयोजनामा आगामी मङ्सिर ५ र ६ गते पोखरा महानगरपालिका–२५ स्थित काव्यनगरी हेमजामा महोत्सव हुन लागेको हो। महोत्सवका सम्बन्धमा जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा आयोजकले महोत्सवको उद्देश्य, तयारी र कार्यक्रमबारे जानकारी गराएको छ।

प्राज्ञ एवं महाकाव्यकार शङ्करमण त्रिपाठी (छन्दमणि) को परिकल्पनामा वि.सं. २०८२ देखि सुरु भएको हेमजा साहित्य महोत्सवको पहिलो संस्करणमा ४१ जिल्लाका स्रष्टाहरूको सहभागिता रहेको थियो। पहिलो महोत्सवकै अवसरमा हेमजालाई ‘काव्यनगरी’ घोषणा गरिएको थियो। पहिलो संस्करणको सफलताबाट उत्साहित हुँदै दोस्रो संस्करण आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

प्राकृतिक सौन्दर्य, सांस्कृतिक वैभव र साहित्यिक चेतनाले सम्पन्न हेमजालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यिक मानचित्रमा स्थापित गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको छ। महोत्सवलाई साहित्यिक कार्यक्रमका रूपमा मात्र सीमित नराखी हेमजाको मौलिक पहिचान, भाषा, संस्कृति, पर्यटन, कला र सामाजिक एकतालाई उजागर गर्ने साझा उत्सवका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।

महोत्सवमा कविता, आख्यान, गजल, मुक्तक, गीत, बालसाहित्य, समालोचना, साहित्यिक विमर्श, स्रष्टा सम्मान, काव्यवाचन, पुस्तकमाथि परिचर्चा तथा साहित्यिक संवादलगायतका कार्यक्रम समावेश गरिनेछन्। स्थानीय कला, संस्कृति, मौलिकता र हेमजाको साहित्यिक पर्यटनसँग सम्बन्धित गतिविधिलाई समेत प्राथमिकता दिइने आयोजकले जनाएको छ।

दुई दिनसम्म सञ्चालन हुने महोत्सवमा ‘कविता : अनुभूति र नियति’, ‘काव्यनगरी हेमजा : साहित्यिक पर्यटनको सम्भावना’ र ‘सारङ्गीको सुसेली : लोकसंस्कृतिको धुन’ लगायतका विषयमा विमर्श तथा सिर्जनात्मक कार्यक्रम सञ्चालन हुनेछन्। यसका साथै भजन, सिर्जना, काव्यनगरी दर्शन, कविता, मुक्तक, लघुकथा र गजल वाचनलगायतका कार्यक्रम पनि महोत्सवका आकर्षण रहनेछन्।

यस वर्षको उद्घाटन सत्रमा कविवर एवं भाषासेवी मुकुन्दशरण उपाध्यायलाई अभिनन्दन ग्रन्थ अर्पण गरी अभिनन्दन गरिने कार्यक्रम रहेको छ।

हेमजालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यिक पहिचान दिलाउनुका साथै यहाँको भाषा, कला, संस्कृति र पर्यटनलाई साहित्यसँग जोडेर प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हेमजा साहित्य प्रतिष्ठान नेपालका अध्यक्ष सुनील गायकले बताए। उनले महोत्सव कुनै एक व्यक्ति वा संस्थाको मात्र अभियान नभई हेमजाको साहित्यिक पहिचान र सामाजिक गौरवसँग जोडिएको साझा अभियान भएको उल्लेख गर्दै सबैको साथ र सहयोग आवश्यक रहेको बताए।

त्यसैगरी, नयाँ पुस्तामा पठन संस्कृति, लेखन सीप र साहित्यप्रतिको रुचि अभिवृद्धि गर्नुका साथै स्थानीय तथा राष्ट्रिय स्तरका स्रष्टाबीच सिर्जनात्मक संवाद र विभिन्न साहित्यिक संस्थाबीच सहकार्यको वातावरण निर्माण गर्ने लक्ष्य महोत्सवले राखेको प्रतिष्ठानका महासचिव कोविदशरण उपाध्यायले बताए। उनले महोत्सवलाई व्यापक सहभागितामूलक र उपलब्धिमूलक बनाउन सबै साहित्यप्रेमीलाई सहभागी हुन आग्रह गरे।

महोत्सवले हेमजाको साहित्यिक पहिचानलाई थप उचाइमा पुर्‍याउनुका साथै स्थानीय कला, संस्कृति र पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्