पोखरा। सुरक्षित आप्रवासन कार्यक्रमअन्तर्गत कार्यरत कर्मचारी तथा सूचना तथा परामर्शकर्मीका लागि आयोजित दुईदिने तनाव व्यवस्थापन तालिम सम्पन्न भएको छ।
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकीले कास्कीको ढिकुरपोखरीस्थित हिमालयन देउराली रिसोर्टमा शुक्रबार र शनिबार तालिम सञ्चालन गरेको हो। तालिममा जिल्ला कार्यक्रम संयोजक, आप्रवासी स्रोत केन्द्रका सूचना तथा परामर्शकर्मी तथा मन्त्रालयका कर्मचारी गरी ४२ जनाको सहभागिता थियो।
तालिममा मानसिक स्वास्थ्य, स्वहेरचाह, सकारात्मक सोच, पेशागत विकास र सकारात्मक ऊर्जालगायतका विषयमा सहजीकरण गरिएको थियो। पहिलो दिन सावित्री शर्माले मानसिक स्वास्थ्य प्रवद्र्धन तथा स्वहेरचाहका उपाय र अभ्यासबारे सहजीकरण गरेकी थिइन्। मन्त्रालयका सचिव शेषनारायण पौडेलले कार्य वातावरणमा सकारात्मक सोचको विषयमा सहजीकरण गरे।
दोस्रो दिन भक्तराज रसाइलीले प्रशंसनीय दृष्टिकोण तथा पेशागत विकास र पत्रकार तथा उत्प्रेरक सुष्मा पौडेलले सकारात्मक ऊर्जा तथा उत्प्रेरणासम्बन्धी गतिविधि सञ्चालन गरेकी थिइन्। सहभागीका लागि योग तथा साधनासमेत सञ्चालन गरिएको थियो।
तालिमको समापन गर्दै सचिव पौडेलले कर्मचारीहरूले आफ्नो तनाव व्यवस्थापन गर्दै खुसी र सकारात्मक भएर काम गर्न सकून् भन्ने उद्देश्यले तालिम आयोजना गरिएको बताए। सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा रहने कर्मचारीले मुस्कानसहित प्रभावकारी सेवा दिनुपर्नेमा जोड दिँदै उनले सेवाभावलाई अझ मजबुत बनाउन आग्रह गरे।
तालिमपछि कर्मचारीमा सकारात्मक ऊर्जा र उत्साह बढ्ने विश्वास व्यक्त गर्दै पौडेलले जिम्मेवारी निर्वाह गर्दा कुनै सम्झौता नगरी निःस्वार्थ भावना र सेवाभावका साथ काम गर्न आग्रह गरे। कर्मचारीको व्यवहार र सकारात्मक सोचले सेवाग्राहीले पाउने सेवाको गुणस्तरमा समेत प्रभाव पार्ने भएकाले आफ्नो कामप्रति जिम्मेवार र प्रतिबद्ध हुनुपर्ने उनको भनाइ थियो।
तालिमले कार्यस्थलमा उत्पन्न हुने तनाव व्यवस्थापन, सकारात्मक सोचको विकास तथा मानसिक स्वास्थ्य र स्वहेरचाहमा ध्यान दिन कर्मचारीलाई सहयोग पुग्ने विश्वास गरिएको छ।









