पोखरा । दशैंको अवसरमा पोखरामा तीनदिने ‘दशैं फेस्ट २०८३’ आयोजना हुने भएको छ। मिरर इन्टरटेन्मेन्ट प्रालि र बीटुडी डान्स स्कुलको संयुक्त आयोजनामा असोज २४ देखि २६ गतेसम्म अमरसिंह चौरमा फेस्ट हुने भएको हो।
संगीत, नृत्य, कला तथा नेपाली मौलिक संस्कृतिलाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यले फेस्ट आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। नयाँ पुस्ताका प्रतिभालाई प्रोत्साहनसँगै नेपाली कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्याउने लक्ष्य राखिएको छ।
फेस्टको पहिलो दिन ‘डान्सिङ सुपरस्टार’सँगै विभिन्न चर्चित सांगीतिक समूहको प्रस्तुति रहनेछ। दोस्रो दिन असोज २५ गते विद्यालयस्तरीय राष्ट्रिय लोक सांस्कृतिक नृत्य प्रतियोगिता हुनेछ।

प्रतियोगितामा प्रथम हुनेलाई ५५ हजार, द्वितीयलाई ३३ हजार, तृतीयलाई २२ हजार र सान्त्वनालाई ११ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने बीटुडी डान्स स्कुलका संस्थापक अमन तामाङले जानकारी दिए।
सोही दिन चर्चित गायक प्रकाश दुतराज तथा लाइनअप लोकब्याण्डको प्रस्तुति रहनेछ।
अन्तिम दिन स्थानीय ब्यान्ड तथा कलाकारहरूको सांगीतिक प्रस्तुतिसहित फेस्टको समापन गरिने आयोजकले जनाएको छ।
फेस्टले मनोरञ्जनसँगै नेपाली मौलिक कला, संस्कृति र पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने आयोजकको विश्वास छ।









