पोखरा ।
पोखरा महानगरपालिका–१७ का बासिन्दाले फेवातालमा बनेको फेवा ड्यामको दिगो संरक्षण र सडकमा बग्ने पानीको उचित निकासका लागि ढल निर्माणलाई प्राथमिकता दिन जनप्रतिनिधिको ध्यानाकर्षण गराएका छन्।
पोखरा महानगरपालिका–१७ को आयोजना तथा पोखरा टेलिभिजनको सहजीकरणमा आइतबार आयोजित सार्वजनिक सुनुवाइमा वडाबासीले खानेपानी तथा यातायात समस्या समाधान, सीसीटीभी जडान, सिँचाइका कुलोको उचित व्यवस्थापन, दिगो विकास र सुशासनलगायतका विषय उठाए।
सहभागीले वडा कार्यालयको सेवा प्रवाहलाई थप नागरिकमैत्री र पारदर्शी बनाउन सुझाव दिए। उनीहरूले फेवा ड्यामको संरक्षणमा समयमै ध्यान नदिए ड्यामभन्दा तलका बस्ती जोखिममा पर्न सक्ने बताए।
फेवा ड्याम निर्माण भएको चार दशक बितिसकेको छ भने करिब ६ वर्षअघि यसको मर्मत गरिएको थियो।
वडाबासीले राखेका जिज्ञासाको जवाफ दिँदै वडा अध्यक्ष राधिका शाही योगीले नागरिकले उठाएका विषय र समस्यालाई वडा कार्यालयले उच्च प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता जनाइन्।
अध्यक्ष शाहीले वडाको बजेटले मात्र ठूला योजना सम्पन्न गर्न नसकिने बताउँदै फेवा ड्यामको दिगो संरक्षण र वडाभित्रको ढल निकासको दीर्घकालीन व्यवस्थापनका लागि पोखरा महानगरपालिका, प्रदेश सरकार, केन्द्र सरकार तथा सम्बन्धित निकायसँग समन्वय र साझेदारीमा काम अघि बढाउने बताइन्।
‘नागरिकले उठाएको आवाज नै वडा विकासको मुख्य मार्गचित्र हो,’ उनले भनिन्, ‘फेवा ड्याम र ढल निकासका विषयमा हामी सम्बन्धित निकायसँग निरन्तर संवादमा छौँ। साझेदारीमार्फत यसको स्थायी समाधान खोज्न वडा कार्यालय प्रतिबद्ध छ।’
वडा कार्यालयका सचिव सुरेन्द्रप्रसाद शर्माले सेवाग्राहीलाई सहज र छिटोछरितो सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए। उनले चालु आर्थिक वर्षको कार्यप्रगति विवरण प्रस्तुत गर्दै वडाबासीका गुनासा र सुझावलाई आत्मसात् गर्दै आगामी दिनमा प्रशासनिक सेवालाई थप प्रविधिमैत्री, पारदर्शी र जनमुखी बनाउने बताए।
वडा सदस्य विक्रम गुरुङले वडा कार्यालयले गरेका काम, विकास निर्माण तथा सेवा प्रवाहबारे वडाबासीलाई जानकारी गराउन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सार्वजनिक सुनुवाइ आयोजना गरिएको बताए।
कार्यक्रममा वडाका जनप्रतिनिधि, स्थानीय संघसंस्थाका प्रतिनिधि, टोल विकास संस्थाका अध्यक्ष, आमा समूह तथा वडाबासीको बाक्लो उपस्थिति थियो। कार्यक्रम वडा अध्यक्ष शाहीको अध्यक्षतामा भएको थियो भने पोखरा टेलिभिजनले सहजीकरण गरेको थियो।









