पोखरा । पोखरामा क्रियाशील युवा पत्रकार सुमन थापा सिञ्जालीमगर मेजर लक्ष्मीप्रसाद–हुमकुमारी गुरुङ एमबिओ, बिइएम, टुजिआर युवा पत्रकारिता पुरस्कार–२०८३ बाट सम्मानित भएकी छन्।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीको संयोजनमा प्रदान गरिने उक्त पुरस्कार मेजर लक्ष्मीप्रसाद र हुमकुमारी गुरुङको वैवाहिक वर्षगाँठको अवसरमा बिहीबार आयोजित कार्यक्रममा प्रदान गरिएको हो। उनलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरिएको थियो।
पुरस्कारका लागि छनोट भएकी सिञ्जालीमगरले २०६८ सालदेखि कास्कीलाई कर्मथलो बनाएर पत्रकारिता गर्दै आएकी छन्। युनाइटेड राष्ट्रिय दैनिकबाट सञ्चार क्षेत्रमा प्रवेश गरेकी उनले जननी एफएम, बिग एफएम, परिचय डटकम, गन्थन डटकम, समाधान राष्ट्रिय दैनिक र कथालिका डटकमलगायत विभिन्न सञ्चारमाध्यममा काम गरिसकेकी छन्।
पत्रकारिता विषयमा स्नातक तहको अध्ययन पूरा गरेकी सिञ्जालीमगरले रेडियो, अनलाइन र छापा पत्रकारितामा अनुभव हासिल गरेकी छन्। उनी हाल पनि पत्रकारिता क्षेत्रमा सक्रिय छिन्। सिञ्जालीमगर फोनिज गण्डकी र नेपाल मगर पत्रकार संघ कास्कीकी कोषाध्यक्षसमेत हुन्।
पत्रकारिता क्षेत्रमा पुर्याएको योगदान र युवा पत्रकारितामा देखाएको सक्रियताको कदर गर्दै उनलाई उक्त पुरस्कार प्रदान गरिएको हो। फोनिज गण्डकीका इन्चार्ज रुद्र श्रीषमगरको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिले सिञ्जालीमगरलाई पुरस्कारका लागि सिफारिस गरेको थियो। समितिमा फोनिज गण्डकीका अध्यक्ष खिमकुमारी गुरुङ, उपाध्यक्ष धनबहादुर गुरुङ, फोनिज कास्कीका अध्यक्ष बिनाकुमारी थापामगर र सचिव देविका तामाङ सदस्य रहेका थिए।
पुरस्कार ग्रहणपछि सिञ्जालीमगरले सम्मानले पत्रकारिता क्षेत्रमा थप सक्रिय भएर काम गर्न प्रेरणा मिलेको बताइन्। आदिवासी जनजातिको हकअधिकार, भाषा, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका साथै ब्रिटिश गोर्खाहरूको हकअधिकार र उनीहरूमाथि हुने विभेदविरुद्ध कलम चलाउन थप जिम्मेवार बनाएको उनको भनाइ थियो। उनले पत्रकारिता यात्रामा साथ र हौसला दिने परिवार, अग्रज, सहकर्मी तथा जीवनसाथीप्रति आभार व्यक्त गरिन्।

गुरुङले प्रदेश सरकारले गुरुङ र मगर भाषासम्बन्धी विधेयक अघि बढाएको उल्लेख गर्दै भाषाको व्यवहारिक प्रयोगमा जोड दिइन्। सरकारी कार्यालय तथा सार्वजनिक क्षेत्रमा समेत मातृभाषाको प्रयोग गर्नुपर्ने उनको भनाइ थियो। भाषा र संस्कृति संरक्षणका लागि पत्रकारहरूले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताउँदै उनले पुरस्कार प्राप्त गरेपछि मात्र नभई लामो समयसम्म निरन्तर पत्रकारितामा सक्रिय रहनु महत्त्वपूर्ण हुने धारणा राखिन्।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले पत्रकारिता क्षेत्रमा पुरस्कार स्थापना गरेर योगदान पुर्याएकोमा अक्षयकोषदाता गुरुङ दम्पतीलाई धन्यवाद दिए। उनले सानो लगानीले पनि पत्रकारिता क्षेत्रमा ठूलो प्रतिफल दिन सक्ने उल्लेख गर्दै अक्षयकोषमार्फत पत्रकारलाई प्रोत्साहन गर्ने कार्य प्रशंसनीय रहेको बताए। पुरस्कारले पत्रकारिता क्षेत्रमा निरन्तर लाग्न प्रेरणा मिल्ने उनको भनाइ थियो।
पौडेलले पछिल्लो समय पत्रकारितामाथि विभिन्न चुनौती थपिएको उल्लेख गर्दै सञ्चारमाध्यममाथि सरकारी धरपकड, पत्रकारलाई पक्राउ तथा त्रास सिर्जना गर्ने गतिविधिप्रति चिन्ता व्यक्त गरे। मिडियामाथिको हस्तक्षेप नागरिकको अभिव्यक्ति स्वतन्त्रता र अधिकारमाथिकै हस्तक्षेप भएको उल्लेख गर्दै उनले प्रेस स्वतन्त्रताको रक्षाका लागि पत्रकारहरू एकजुट हुनुपर्ने बताए।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले पत्रकारहरूको क्षमता अभिवृद्धि र प्रोत्साहनका लागि पुरस्कार तथा सम्मानले महत्त्वपूर्ण योगदान पुर्याउने बताए। पत्रकार महासंघले पनि हरेक वर्ष पत्रकारहरूलाई सम्मान गर्दै आएको उल्लेख गर्दै उनले पत्रकारहरूको हकहित, संरक्षण, प्रेस स्वतन्त्रता र व्यावसायिक पत्रकारिताको विकासका लागि महासंघ निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे।
पुरस्कारका अक्षयकोषदाता मेजर लक्ष्मीप्रसाद गुरुङले विभिन्न क्षेत्रमा अक्षयकोष स्थापना गर्दै आएको उल्लेख गर्दै पत्रकारिता क्षेत्रसँग जोडिन पाउँदा खुसी लागेको बताए। पुरस्कार तथा सम्मानले सम्बन्धित क्षेत्रका व्यक्तिलाई प्रोत्साहन मिल्ने बताउँदै उनले आगामी दिनमा अक्षयकोष वृद्धि गरी पुरस्कार राशि बढाउने प्रतिबद्धता व्यक्त गरे। व्यक्तिको अनुपस्थितिमा पनि अक्षयकोषमार्फत सामाजिक योगदान निरन्तर रहिरहने उनको भनाइ थियो।
कार्यक्रममा फोनिज कास्कीका अध्यक्ष बिनाकुमारी थापामगरले अध्यक्षता गरेकी थिइन्। उपाध्यक्ष सुशील श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने सचिव देविका तामाङले कार्यक्रम सञ्चालन गरेकी थिइन्।









