निर्वाचन आयोगको प्रतिवेदन गण्डकी प्रदेश प्रमुखसमक्ष पेस

सिटी पोखरा डेक्स
  • ख-
  • ख
  • ख+

पोखरा ।

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष निर्वाचन आयोगको २० औँ वार्षिक प्रतिवेदन पेस गरिएको छ।

आयोगको प्रदेश निर्वाचन कार्यालय, गण्डकीका निर्वाचन अधिकारी जीवन ज्ञवालीले शुक्रबार आयोजित एक कार्यक्रममा प्रदेश प्रमुख भट्टलाई आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरे।

नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम प्रतिवेदन पेस गरिएको हो।

प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख भट्टले स्थानीय तह निर्वाचनको तयारीमा जुटेको आयोगले यससम्बन्धी कामकारबाही तीव्र गतिमा अघि बढाएको विश्वास व्यक्त गरे।

‘निर्वाचन आयोगको जिम्मेवारी महत्वपूर्ण छ। जनप्रतिनिधि निर्वाचित गर्ने जिम्मेवारी सानो होइन। मुलुकको शासन सञ्चालनको आधार तयार गर्ने महत्वपूर्ण पक्ष निर्वाचन आयोग हो,’ प्रदेश प्रमुख भट्टले भने।

निर्वाचन आयोगका कामकारबाही अझ बढी सचेत र गम्भीरतापूर्वक हुनुपर्ने उल्लेख गर्दै उनले धाँधलीरहित र निष्पक्ष निर्वाचन सम्पन्न गर्ने, सुरक्षित रूपमा मतपेटिका मतगणनास्थलसम्म पुर्‍याउने तथा मतगणना गरी नतिजा सार्वजनिक गर्नेजस्ता कार्य पक्षपातरहित हुनुपर्ने बताए। यसमा आयोगले विशेष ध्यान दिने विश्वाससमेत उनले व्यक्त गरे।

सो अवसरमा निर्वाचन अधिकारी ज्ञवालीले गत माघ ११ गते सम्पन्न राष्ट्रियसभा निर्वाचन र फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामको सारांश प्रस्तुत गरे। उनले आगामी स्थानीय तह निर्वाचनका लागि आयोग तयारीमा जुटिसकेको जानकारी दिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्