पोखरा।
नेपाल पर्यटन पत्रकार संघ गठन गरिएको छ। हरिप्रसाद बास्तोलाको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन भएको संघले शुक्रबार जिल्ला प्रशासन कार्यालय कास्कीबाट दर्ता प्रमाणपत्र प्राप्त गरेको हो।
नवगठित संघको उपाध्यक्षमा गोविन्द सुवेदी र कृष्ण श्रेष्ठ चयन भएका छन्। त्यस्तै, महासचिवमा घनश्याम पाण्डे, सचिवमा एकराज गिरी र समावेशी सचिवमा विजय नेपाली चयन भएका छन्। कोषाध्यक्षको जिम्मेवारी चन्द्रिका घिमिरेले पाएकी छन्।
संघको सदस्यमा पुष्पराज दाहाल, बालकुमारी पौडेल, बिना कुमारी थापा, सरिता गुरुङ, दिनानाथ बराल, राम गुरुङ, राजु गिरी र रामशरण नेपाली रहेका छन्।
संघलाई दर्ता प्रमाणपत्र हस्तान्तरण गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिङ गुरुङले पर्यटन क्षेत्रको विकास, प्रवर्द्धन र पहिचान स्थापित गर्न सञ्चारमाध्यम तथा पत्रकारिताको भूमिका महत्त्वपूर्ण हुने बताए। नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र पर्यटनका विविध सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन पत्रकारिताले प्रभावकारी योगदान पुर्याउन सक्ने उनको भनाइ थियो। उनले पर्यटनसँग सम्बन्धित हरेक गतिविधिमा सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नसमेत आग्रह गरे।
संघका अध्यक्ष हरिप्रसाद बास्तोलाले नेपाल पर्यटन पत्रकार संघलाई पर्यटन पत्रकारहरूको साझा र व्यावसायिक संस्थाका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे। पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि प्रचारप्रसारसँगै खोजमूलक पत्रकारितालाई प्राथमिकता दिइने उनले बताए।
पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेका गन्तव्य, कला, संस्कृति, प्राकृतिक सम्पदा तथा स्थानीय पर्यटन व्यवसायलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा चिनाउन संघले सक्रिय भूमिका निर्वाह गर्ने बास्तोलाको भनाइ थियो।
पर्यटन पत्रकारहरूको क्षमता अभिवृद्धि, व्यावसायिक हकहितको संरक्षण तथा पर्यटन क्षेत्रका सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने उनले बताए। संघले आगामी दिनमा सञ्चालन गर्ने कार्यक्रम र कार्ययोजना पहिलो बैठकपछि सार्वजनिक गरिने पनि उनले जानकारी दिए।
संघका महासचिव घनश्याम पाण्डेले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा पत्रकारिताको भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यले संघ स्थापना गरिएको बताए।
पर्यटकीय गन्तव्यको पहिचान, सम्भावनाको खोज, अध्ययन तथा प्रचारप्रसारमार्फत नेपालको पर्यटनलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न संघले प्राथमिकताका साथ काम गर्ने उनको भनाइ थियो।









