पोखरा । दसैंलाई लक्षित गर्दै पोखराको सभागृह हल परिसरमा ‘यामाहा ब्लु फेस्ट’ महाएक्सचेन्ज मेला शुक्रबारदेखि सुरु भएको छ। यामाहा दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक एमएडब्ल्यू राइडिङ्सअन्तर्गतको एमएडब्ल्यू इन्टरप्राइज प्रालिले आयोजना गरेको मेला असोज ३० गतेसम्म सञ्चालन हुनेछ।
मेलाको अवसरमा कम्पनीले नयाँ मोटरसाइकल यामाहा एक्सएसआर १५५ सार्वजनिक गरेको छ। रेट्रो डिजाइन र आधुनिक प्रविधिको संयोजन रहेको यस मोटरसाइकलको कालो रङको मूल्य ५ लाख ६४ हजार ९०० रुपैयाँ र निलो रङको मूल्य ५ लाख ३४ हजार ९०० रुपैयाँ तोकिएको एमएडब्ल्यू राइडिङ्सका क्षेत्रीय व्यवस्थापक रामकुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार एक्सएसआर १५५ मा भेरिएबल भल्भ एक्चुएसन (भीभीए) प्रविधि र ट्र्याक्सन कन्ट्रोल सिस्टम (टीसीएस) लगायतका विशेषता छन्। रेट्रो लुक्ससँगै आधुनिक प्रविधि चाहने ग्राहकलाई लक्षित गरी मोटरसाइकल सार्वजनिक गरिएको उनले बताए।
कम्पनीका अनुसार पोखरामा आयोजित ब्लु फेस्ट काठमाडौंपछि नेपालकै ठूलो एक्सचेन्ज इभेन्ट हो। मेलामा जुनसुकै ब्रान्डका पुराना मोटरसाइकल तथा स्कुटर साटेर नयाँ यामाहा खरिद गर्न सकिनेछ। पुराना सवारीसाधनको मूल्यांकनका लागि एकै ठाउँमा पाँचदेखि छ जनासम्म रिकन्डिसन व्यवसायीको व्यवस्था गरिएको छ। यसबाट ग्राहकले विभिन्न व्यवसायीबाट मूल्यांकन गराई बढी मूल्य दिने व्यवसायीमार्फत सवारीसाधन साट्न सक्नेछन्।
मेलामा नागरिकताको आधारमा नयाँ सवारीसाधन खरिद गर्न सकिने सुविधा उपलब्ध गराइएको छ। कम्पनीले ३० वा ६० प्रतिशत डाउन पेमेन्टमा एकल अंकको ब्याजदर तथा ४० महिनासम्मको किस्ताबन्दी सुविधा उपलब्ध गराउने जनाएको छ। मेला स्थलबाटै मूल्यांकन, फाइनान्स र खरिदसम्बन्धी प्रक्रिया पूरा गर्न सकिनेछ।
त्यस्तै, पहिलो १०० जना ग्राहकलाई थर्ड पार्टी इन्स्योरेन्स उपलब्ध गराइनेछ। फाइनान्समार्फत सवारीसाधन खरिद गर्ने ग्राहकलाई सर्भिस चार्जसमेत निःशुल्क गरिने कम्पनीले जनाएको छ।
‘यामाहा चंगा चेट’ योजनाअन्तर्गत एक लाख रुपैयाँसम्म नगद छुट, खरिद प्रमाणित गर्दा १० लाख रुपैयाँसम्म जित्ने अवसर, हरेक साता हाईटेक ग्याजेट तथा बम्पर उपहारमा नयाँ यामाहा आर१५ जित्ने अवसर रहेको छ। दसैंको अष्टमीसम्म टेस्ट राइड गर्ने तथा सवारीसाधन खरिद गर्ने ग्राहकलाई लक्षित गरी लक्की ड्रमार्फत एक जनालाई आईफोन १७ प्रदान गर्ने योजनासमेत रहेको कम्पनीले जनाएको छ।
मेलामा एफजेड-एस एफआई भिएस४, आर१५ भिएस४, एमटी-१५ भिएस२, रेजेडआर १२५ एफआई हाइब्रिड र एरोक्स १५५ लगायतका मोटरसाइकल तथा स्कुटर प्रदर्शनी र बिक्रीका लागि राखिएका छन्।
दसैंमा नयाँ सवारीसाधन खरिद तथा पुरानो सवारीसाधन एक्सचेन्ज गर्न चाहने ग्राहकलाई लक्षित गरी आकर्षक छुट, सहज फाइनान्स र विभिन्न उपहारसहित मेला आयोजना गरिएको कम्पनीले जनाएको छ। मेला असोज ३० गतेसम्म सञ्चालन हुनेछ।








