पोखरा । नेपालमा एन्टिबायोटिक औषधिको समग्र खपत कोभिड–१९ महामारीको उच्च बिन्दुको तुलनामा घटे पनि जोखिमपूर्ण औषधिको प्रयोग र बढ्दो प्रतिजैविक प्रतिरोध (एएमआर) जनस्वास्थ्य तथा पशुपन्छी स्वास्थ्यका लागि गम्भीर चुनौतीका रूपमा देखिएको छ।
गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयको आयोजनामा सञ्चारकर्मी तथा सरोकारवालाबीच आयोजित एएमआरसम्बन्धी मंगलबार आयोजित अन्तरक्रिया कार्यक्रममा प्रस्तुत विभिन्न तथ्याङ्क तथा अध्ययनले एन्टिबायोटिकको अनुचित प्रयोग नियन्त्रण गर्न थप प्रभावकारी कदम आवश्यक रहेको देखाएका छन्।
औषधि व्यवस्था विभागको सन् २०१६–२०२४ को तथ्याङ्कमा आधारित विश्लेषण, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पोखराको विवरण तथा नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) का निष्कर्षले एन्टिबायोटिकको प्रयोग र त्यसबाट उत्पन्न प्रतिरोधको अवस्था चिन्ताजनक रहेको देखाएका हुन्।
कुल खपत घट्यो, तर जोखिमपूर्ण ‘वाच‘ समूहको प्रयोग उच्च
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एएमआर फोकल पर्सन तथा कन्सल्टेन्ट फिजिसियन डा. शरद चन्द्र बरालको विश्लेषणअनुसार नेपालमा एन्टिबायोटिकको उपयोग सन् २०१६ मा ४०.३७ डीआईडी (प्रति १ हजार जनसंख्या प्रतिदिनको मानकीकृत सूचक) बाट बढ्दै कोभिड–१९ को समयमा सन् २०२१ मा ७९.५३ डीआईडीको उच्चतम बिन्दुमा पुगेको थियो। त्यसपछि सन् २०२२ मा २८.४८ डीआईडीमा झरेको उपयोग सन् २०२४ मा २९.४३ डीआईडी रहेको छ।
यद्यपि, कुल खपत घटे पनि पहिलो रोजाइमा प्रयोग गरिनुपर्ने ‘एक्सेस’ (Access) समूहका एन्टिबायोटिकको हिस्सा सन् २०२४ मा ३६.२ प्रतिशत मात्रै रहेको छ। यो सन् २०३० सम्ममा कम्तीमा ७० प्रतिशत पुर्याउने अन्तर्राष्ट्रिय लक्ष्यभन्दा ३३.८ प्रतिशत अंकले कम हो।
अर्कोतर्फ, प्रतिरोधको जोखिम बढी हुने ‘वाच’ (Watch) समूहको हिस्सा सन् २०१६–२०२४ को अवधिमा कुल उपयोगमा ४७ देखि ७४ प्रतिशतसम्म देखिएको छ। अस्पतालमा भर्ना भएका बिरामीमा गरिएको प्वाइन्ट प्रिभ्यालेन्स सर्भे (पीपीएस) मा रेकर्ड गरिएको एन्टिबायोटिक प्रयोगको वितरणमा वाच समूहको हिस्सा ७०.१ प्रतिशत, एक्सेस २९.८ प्रतिशत र रिजर्भ ०.१ प्रतिशत रहेको पाइएको छ।
सन् २०२४ मा मुखबाट सेवन गरिने एन्टिबायोटिकमध्ये एजिथ्रोमाइसिन २७.६ प्रतिशत, सेफिक्सिम १४.६ प्रतिशत र एमोक्सिसिलिन ११.२ प्रतिशत प्रमुख रूपमा प्रयोग भएको देखिन्छ। इन्जेक्सनतर्फ सेफ्ट्रिआक्सनले प्रायः ४० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ।
मृत्यु र बहु-औषधि प्रतिरोधको भार
प्रतिजैविक प्रतिरोधका कारण विश्वव्यापी रूपमा सन् २०२१ मा जीवाणुजन्य एएमआरसँग सम्बन्धित ४७ लाखभन्दा बढी मृत्यु भएको अनुमान छ। नेपालमा सन् २०१९ मा एएमआरका कारण प्रत्यक्ष रूपमा ६ हजार ४०० मृत्यु र प्रतिरोधी संक्रमणसँग सम्बन्धित २३ हजार २०० मृत्यु भएको अनुमान गरिएको छ।
राष्ट्रिय प्रयोगशाला निगरानीअनुसार प्रमुख रोगजनकहरूमा बहु-औषधि प्रतिरोध (एमडीआर) को दर ई. कोलाईमा करिब ५१ प्रतिशत, क्लेबसिएलामा करिब ५६ प्रतिशत र एसिनोब्याक्टरमा करिब ७२ प्रतिशत पुगेको छ।
एन्टिबायोटिकले काम गर्न छाडेमा उपचार असफल हुने, अस्पतालमा लामो समय बस्नुपर्ने, आर्थिक भार थपिने र ढिलो उपचारले ज्यानसमेत जान सक्ने जोखिम रहने प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र पोखराका फार्मेसी अधिकृत सजन बरालले उल्लेख गरे।
पोखराको प्रयोगशालामा पशुपन्छीतर्फ एमडीआर ४७ प्रतिशत पुग्यो
पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, पोखराका वरिष्ठ पशु चिकित्सक डा. किरण पाण्डेले पशु स्वास्थ्य क्षेत्रमा पनि प्रतिरोधको अवस्था चिन्ताजनक रहेको बताए।
प्रयोगशालामा परीक्षण गरिएका आइसोलेटमध्ये बहु-औषधि प्रतिरोधी (एमडीआर) को हिस्सा १३ प्रतिशतबाट बढेर ४७ प्रतिशत पुगेको छ। आर्थिक वर्ष २०७८/७९ मा १६७ आइसोलेटमध्ये २२ वटामा एमडीआर देखिएकोमा आर्थिक वर्ष २०८२/८३ मा ९७३ मध्ये ४५७ वटामा देखिएको छ। साथै, प्यानड्रग प्रतिरोधी (पीडीआर) को संख्या ५.७ गुणा बढेको छ।
मानिसमा देखिने संक्रामक रोगमध्ये ६० प्रतिशत जुनोटिक (जनावरबाट सर्ने) हुने र नयाँ देखिने संक्रामक रोगमध्ये कम्तीमा ७५ प्रतिशत जनावरबाट उत्पन्न हुने सन्दर्भमा पशुपन्छी, मासु, दूध तथा वातावरणमा हुने प्रतिरोधले जनस्वास्थ्यमा प्रत्यक्ष असर पार्न सक्छ।
प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र पोखराका फार्मेसी अधिकृत सजन बरालको प्रस्तुतिमा समेटिएका अध्ययनहरूले पनि मासुका नमुनामा निष्कासन अवधि (Withdrawal Period) पालना नगरिँदा एन्टिबायोटिकको अवशेष उच्च देखिनु तथा कुखुरापालन क्षेत्रमा प्रतिरोधी जीवाणु पाइनुले खाद्य सुरक्षामा समेत सतर्कता आवश्यक रहेको देखाएका छन्।
कार्यक्रममा प्रादेशिक रोग नियन्त्रण केन्द्र कास्कीका महानिर्देशक मनमोहन मिश्रले एएमआरको प्रदेशस्तरको अवस्था, समस्या समाधानका सम्भावित उपाय, भावी कार्यदिशा र सचेतनामा सञ्चारकर्मीको भूमिकाबारे प्रस्तुति राखेका थिए।
प्रेस्क्रिप्सनबिना खरिद र कानुनी कार्यान्वयनको चुनौती
प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र पोखराका फार्मेसी अधिकृत सजन बरालको प्रस्तुतिमा समावेश नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्ययनअनुसार बिरामीहरूले प्रेस्क्रिप्सनबिना औषधि पसलबाट एन्टिबायोटिक खरिद गर्नुका प्रमुख कारणमा पहिले पनि आफैँ प्रयोग गर्ने बानी २३.०१ प्रतिशत, अस्पताल पुग्न सम्भव नहुनु १५.०४ प्रतिशत, अस्पताल टाढा हुनु वा खर्च धान्न नसक्नु ११.५०–११.५० प्रतिशत र पसलमा सजिलै औषधि पाइनु १०.६२ प्रतिशत रहेका छन्।
औषधि व्यवस्था विभागले एन्टिबायोटिकको खोलमा रातो धर्का अनिवार्य गर्ने, चिकित्सकको प्रेस्क्रिप्सनबिना बिक्री गर्न नपाइने व्यवस्था गर्ने तथा १०३ प्रकारका कम्बिनेसन औषधिमा प्रतिबन्ध लगाउनेजस्ता नियामक निर्णय गरेको छ।
पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, पोखराका वरिष्ठ पशु चिकित्सक डा. किरण पाण्डेको प्रस्तुतिमा उल्लेख भएअनुसार पशुपन्छी उपचारमा प्रयोग हुने कोलिस्टिनको उत्पादन, पैठारी र बिक्री वितरणमा रोक लगाउने निर्णय, प्रतिजैविक प्रतिरोध राष्ट्रिय कार्ययोजना (२०८०/८१–२०८४/८५) र राष्ट्रिय भेटेरिनरी प्रतिजैविक प्रयोगसम्बन्धी निर्देशन लागू गरिए पनि नीति तथा नियमको प्रभावकारी कार्यान्वयन र अनुगमनमा जोड दिनुपर्ने आवश्यकता औँल्याइएको छ।
एन्टिबायोटिकको जथाभावी प्रयोग रोक्न सबै पक्ष जिम्मेवार : स्वास्थ्यमन्त्री न्यौपाने
अन्तरक्रिया कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री नन्दप्रसाद न्यौपानेले एन्टिबायोटिक औषधिको गलत प्रयोग रोक्न सरकार, स्वास्थ्यकर्मी, सञ्चारमाध्यम र नागरिक सबै जिम्मेवार हुनुपर्ने बताए।
नागरिकलाई निरोगी बनाउनु स्वास्थ्य मन्त्रालयको पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै उनले मन्त्रालयको सफलता रोग लाग्ने नागरिकको संख्या घटाउन सक्नुमा निर्भर रहने बताए। एन्टिबायोटिकको अव्यवस्थित प्रयोगले गम्भीर स्वास्थ्य समस्या निम्त्याइरहेको भन्दै यसको नियन्त्रणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।
कार्यक्रममा प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका महानिर्देशक खिमबहादुर खड्काले एन्टिबायोटिकको बिक्री वितरणलाई व्यवस्थित र नियन्त्रित बनाउन प्रयास भइरहेको बताए। यद्यपि, विभिन्न कारणले अपेक्षित उपलब्धि हासिल गर्न चुनौती रहेको उनले उल्लेख गरे।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) नेपालका डा. समिर पराजुलीले प्रतिजैविक प्रतिरोध विश्वव्यापी जनस्वास्थ्य चुनौती बनेको भन्दै ‘एक स्वास्थ्य नीति’ (One Health Policy) को प्रभावकारी कार्यान्वयन र सही सूचना प्रवाहमा सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण हुने बताए।
गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका निमित्त प्रदेश सचिव सुरज गुरौको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रशान्तराज शर्माले स्वागत मन्तव्य राखेका थिए भने बुद्धिसागर अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए।









