पाेखरा ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसचिव मुकुन्दप्रसाद निरौलाले पर्यटन क्षेत्रमा योगदानका हिसाबले गण्डकी प्रदेश पहिलो स्थानमा रहेको बताएका छन्। कुल राजस्वमा पनि गण्डकीको योगदान उल्लेख्य रहेको उनले बताए।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), गण्डकीको ३३औँ वार्षिक साधारण सभा तथा १९औँ अधिवेशनको उद्घाटन गर्दै निरौलाले नेपालको पर्यटन विकासका लागि गुणस्तरीय पर्यटनमा मात्र केन्द्रित नभई पर्यटकको संख्या बढाउनुपर्नेमा जोड दिए। सबै आर्थिक स्तरका पर्यटकलाई आकर्षित गर्ने नीति आवश्यक रहेको उल्लेख गर्दै उनले पर्यटनको माग र आगमन बढेपछि गुणस्तरीय पर्यटनमा थप केन्द्रित हुन सकिने बताए।
उनले पोखराको पर्यटन विकासमा स्थानीय बासिन्दा र व्यवसायीले खेलेको भूमिकाको प्रशंसा गर्दै निराशालाई आशामा बदल्नुपर्ने धारणा राखे। पर्यटन विकासका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय तथा सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।
निरौलाले पदमार्गको विकास, पर्यटक सुरक्षा, जोखिमयुक्त पदमार्गको पहिचान तथा विपद्पछिको पर्यटन क्षेत्रको पुनःस्थापनामा टानसँग सहकार्य गरिने बताए। नयाँ पदमार्गको पहिचान र विकासमा जोड दिँदै उनले पर्यटनसम्बन्धी कानुनलाई समयसापेक्ष बनाउने तथा टिम्सलाई कानुनी दायरामा ल्याएर व्यवस्थित गर्ने प्रक्रिया अघि बढिरहेको जानकारी दिए।
सन् २०२७ लाई वेलनेस टुरिजम वर्षका रूपमा मनाउने तयारी भइरहेको उल्लेख गर्दै उनले पर्यटन प्रवर्द्धनका लागि सरकारी तथा निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए।

कार्यक्रममा टानका केन्द्रीय अध्यक्ष सागर पाण्डेले नेपालको पर्यटन विकासका लागि अहिले पर्यटकको संख्या बढाउने नीतिमा जोड दिनुपर्ने बताए। उनले पर्यटनलाई विदेशी पर्यटकमा मात्र सीमित नराखी आन्तरिक पर्यटकको योगदानलाई समेत महत्त्व दिनुपर्ने धारणा राखे।
पाण्डेले पर्यटनको परिभाषा, स्रोत बजार र लक्षित पर्यटकबारे स्पष्ट नीति आवश्यक रहेको उल्लेख गर्दै पदयात्रा पर्यटनको प्रवर्द्धनका लागि सरकारी तथा निजी क्षेत्रबीच सहकार्य हुनुपर्ने बताए। नेपालले तत्काल पर्यटक आगमन र माग बढाउने रणनीति अपनाएर त्यसपछि गुणस्तरीय पर्यटनतर्फ थप केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा पर्वत मोदी गाउँपालिकाकी अध्यक्ष हिरादेवी शर्मा, लमजुङकाे दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारी, नेपाल पर्यटन बोर्डका कार्यकारी समिति सदस्य सन्तोष पोखरेल, पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेल र नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष सूर्यबहादुर भुजेललगायतले पर्यटन विकास, ट्रेकिङ रुट, पदमार्गको विस्तार तथा टिम्स (ट्रेकर्स इन्फर्मेसन म्यानेजमेन्ट सिस्टम) लगायतका विषयमा धारणा राखेका थिए।
कार्यक्रममा पत्रकार सागरराज तिमिल्सिना, सन्देश श्रेष्ठ र विश्व भण्डारीलाई जनही १० हजार रुपैयाँ, दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको थियो। टानका पूर्वअध्यक्ष तथा सल्लाहकारहरूलाई समेत कार्यक्रममा सम्मान गरिएको थियो।
टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष तीर्थराज सुवेदीले स्वागत गरेका थिए भने सचिव गोपालकृष्ण संग्रौलाले सञ्चालन गरेका थिए। अधिवेशनबाट नयाँ नेतृत्व चयन हुन भने बाँकी रहेको छ।









