पोखरामा १० किलोमिटर खुला दौड प्रतियोगिता हुने

सिटी पोखरा डेक्स
  • ख-
  • ख
  • ख+

पोखरा । जनप्रिय बहुमुखी क्याम्पस पोखरा र एनवाईसी (N.Y.C.) रत्नचोकको सहआयोजनामा पोखरामा १० किलोमिटर खुला दौड प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता असोज ३१ गते शनिबार हुनेछ । प्रतियोगिता रत्नचोकबाट सुरु हुने दौड सिर्जनाचोक, जिरो किलोमिटर, हल्लनचोक, खहरे, लेकसाइड, बाराही मन्दिर, सहिदचोक, राष्ट्रबैंकचोक, डायमण्डसाइड, बिरौटा, मुस्ताङचोक हुँदै जनप्रिय बहुमुखी क्याम्पसमा पुगेर सम्पन्न हुनेछ ।

आयोजकका अनुसार प्रतियोगितामा हालसम्म ४५० जना महिला तथा पुरुष धावकले नाम दर्ता गराइसकेको जानकारी बिहीबार आयोजित पत्रकार सम्मेलनमा एनवासीका अध्यक्ष आशिक गुरुङले दिए । उनका अनुसार प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ प्रथम हुनेले १० हजार, द्वितीय हुनेले ७ हजार र तृतीय हुनेले ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । विजेतालाई मेडल र प्रमाणपत्रसमेत प्रदान गरिनेछ। दौड पूरा गर्ने सबै धावकलाई मेडल प्रदान गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको मुख्य उद्देश्य मानिसलाई दैनिक जीवनमा दौडलाई समावेश गर्न प्रोत्साहित गर्नु र स्वस्थ जीवनशैलीको सन्देश प्रवाह गर्नु रहेको जनप्रिय बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख कृष्णबाबु बरालले बताए । नियमित दौडले स्वस्थ जीवनयापनमा सहयोग पुर्‍याउने तथा रोगका कारण उत्पन्न हुन सक्ने आर्थिक, मानसिक र शारीरिक तनाव कम गर्न मद्दत पुग्ने सन्देश दिन कार्यक्रम आयोजना गर्न लागिएको उनको भनाइ छ ।

प्रतियोगिताबाट खर्च कटाएर बचत भएको रकम एनवाईसीका युवाले टोल विकासका गतिविधि तथा जनप्रिय बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीको छात्रवृत्तिमा खर्च गर्ने जनाइएको छ ।

एनवाईसी रत्नचोक तथा जनप्रिय बहुमुखी क्याम्पसबीच करिब १० वर्षअघि सहकार्यको सम्झौता भएको थियो। त्यसयता एनवाईसीले क्याम्पसमा स्नातक तहमा अध्ययन गर्ने २५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । स्थानीय युवाद्वारा स्थापित एनवाईसी सामाजिक संस्था हो भने जनप्रिय बहुमुखी क्याम्पस शिक्षा, समाजसेवा तथा संघसंस्थाको योगदानबाट स्थापित गैरनाफामूलक उच्च शैक्षिक संस्था हो ।

आयोजकले प्रतियोगितामार्फत खेलकुद संस्कृतिको विकास, स्वस्थ जीवनशैलीको प्रवर्द्धन र सामाजिक सेवाका गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्