टेस्लाले सार्वजनिक गर्‍यो उड्न सक्ने भनिएको इलेक्ट्रिक कार ‘रोडस्टर’

सिटी पोखरा डेक्स
  • ख-
  • ख
  • ख+

एजेन्सी । अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाले टेक्ससमा आयोजित एक कार्यक्रममा आफ्नो बहुप्रतीक्षित इलेक्ट्रिक स्पोर्ट्स कार ‘रोडस्टर’ को नयाँ संस्करण प्रदर्शन गरेको छ । कम्पनीले यसलाई रकेट प्रविधिको सहायताले हावामा उड्न सक्ने कारका रूपमा प्रस्तुत गरेको छ ।

कार्यक्रममा टेस्लाका प्रमुख कार्यकारी अधिकृत इलन मस्कले कारको प्रदर्शन देखाउँदै यसमा स्पेसएक्ससँग सहकार्य गरेर विकास गरिएको थ्रस्टर प्रविधि प्रयोग गरिएको बताएका छन् । उक्त प्रविधिले गाडीलाई अतिरिक्त बल प्रदान गर्नुका साथै हावामा नियन्त्रण गर्न सहयोग गर्ने बताइएको छ ।

मस्कका अनुसार कारले ०.८१ सेकेन्डमै ९७ किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ । दुई जना बस्न मिल्ने यो कारको प्रदर्शन सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा यसको प्रविधि र सम्भावित प्रयोगबारे चर्चा सुरु भएको छ ।

यद्यपि, कारको व्यावसायिक उत्पादन कहिले सुरु हुन्छ, मूल्य कति पर्छ र सडक तथा हवाई सुरक्षासम्बन्धी मापदण्ड कसरी पूरा गरिन्छ भन्नेबारे स्पष्ट जानकारी सार्वजनिक भएको छैन । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्