पोखरा ।
पत्रकारितामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगबारे पोखरामा शनिबार घनीभूत संवाद भएको छ । सेसनका वक्ताले एआईबिनाको न्यूज रुमको कल्पना गर्न नसकिने तर्क गरे ।
प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश आयोजनामा गण्डकी मिडिया समिट–२०८३ तथा अग्रज पत्रकार सम्मान समारोहमा ‘पत्रकारितामा एआई’ सेसन भएको हो ।
सेसनमा वक्ता थिए–अनलाइनखबरका प्रधान सम्पादक बसन्त बस्नेत, एआईका विज्ञ दोभान राई र सञ्चार उद्यमी एवं कन्टेन्ट क्रियटर महेश भण्डारी ।
सञ्चारकर्मी रघुनाथ वाग्लेले सहजीकरण गरेको कार्यक्रममा वक्ताले एआई प्रविधि अहिले दू्रत गतिमा विकास हुँदै गएको र भविष्यमा यसले मानिसलाई छाडेर अघि बढ्न सक्ने पनि संकेत गरे ।
पत्रकार बस्नेतले अब एआई बिनाको न्यूजरुम परिकल्पना गर्न नसकिने उल्लेख गरे । उनले आफ्नो मिडियामा एआई प्रयोग गर्न थालेको एकडेढ वर्ष बितिसकेको स्मरण गरे । समाचारको सत्यापन छुट्याउने काममा विश्वास गरेर सम्पूर्ण रुपमा एआईलाई छोड्न नसकिने, तर अदृश्य निर्णयकर्तामा मानिस नै हुने बताए । उनले भने, ‘एआईले जहिलेसुकै राइट जजमेन्ट दिन्छ भन्ने पनि भ्रममा बस्नु हुँदैन । अदृश्य निर्णयकर्तामा मानिस नै हुने गर्छ ।’
एआई विज्ञ राईले ५ वर्षअघि एआई ‘सुगा चराजस्तो’ मनोरञ्जनको रुपमा लिइने गरिएकामा अहिले आएर बाघको सवार जस्तो भएको तर्क गरिन् । उनले भनिन्, ‘एआई प्रविधि अहिले दू्रत गतिमा विकास हुँदै गएको छ । हाम्रो समाज, हाम्रो अर्थव्यवस्था, व्यवासायिक कार्यव्यवस्था दुवै परिवर्तन हुँदै गएको छ ।’ उनले भोलिका दिनमा एआई मान्छेलाई छाडेर अघि जान सक्ने संकेत गरिन् । ‘एआई यस्तो पावरफुल भइसकेको छ, हरेक कुरा निकै रियालिटी हुँदै आएको छ,’ उनले भनिन्, ‘एआई गरेको छुट्टि नै नसक्ने पनि अवस्था छ । हाम्रो काम, हाम्रो सम्बन्ध, क्रियसन भनेको बाहिर देखाउन मात्र होइन, भोलिका दिनमा खोक्रोपना ल्याउन सक्ने जोखिम छ ।’
अर्का वक्ता सञ्चार उद्यमी एवं कन्टेन्ट क्रियटर भण्डारीले एआईको प्रयोग हुनु सकारात्मक हो भने ।
आफूले स्क्रिप्ट तथा कन्टेन्ट क्रियट गर्दा एआई प्रयोग नगरेको दाबी गरे पनि आफ्ना सम्पादक एआईबाट टाढा नरहेको प्रस्ट पारे । उनले हालसम्म ९ सय कन्टेन्ट क्रियट गरिसकेको जानकारी पनि दिए । उनले अगाडि भने, ‘एआईले न्यारेटिभ क्रियट गर्न सक्दैन, व्यक्तिले नै गर्ने हो ।’
यसैबीच, पत्रकार बस्नेतले एआईको प्रयोग लिए पनि सबै कुरामा आश्रित हुन नहुनेमा सचेत गराए । कतिपय सबालमा सत्यलाई भ्रामक बनाउने काम भएकाले यस विषयमा गम्भीर बन्नुपर्ने सुझाव दिए । जतिसुकै गर्दा पनि न्यूज रुममा कहिलेकाहीँ गल्ती हुन सक्ने स्वीकारे ।
अर्को प्रसंगमा उनले एआईले श्रम विस्थापित गरिरहेको भए पनि नयाँ–नयाँ रोजगार पनि विकास गरेको बताए । ‘लेटरप्रेसदेखि अहिलेको दुनियाँ हेर्न पाएँ । यो त अभूतपूर्व फरक छ,’ उनले भने । उनले अल्गोरिदम एउटा परम्परा हा भने । पत्रकार कसैको ‘झोले’ बन्न नहुने जनाउँदै उनले एकबारको जुनीमा हामी आफैँ पालिन सक्छौं भने ।
एआई विज्ञ राईले सूचना प्रविधि विकासले मानिस सामाजिकीकरण हुनबाट बिस्तारै पन्छिदै गएको गुनासो गरिन् । उनले भनिन्, ‘विगतमा हाम्रो घरमा कोही आयो भने वरिपरि बसेर पाहुनाको कुरा सुन्ने चलन थियो । अहिले त्यो प्रचलन हराउन थालेको छ ।’ उनका अनुसार एआई जुन तरिकाले अघि बढेको छ, त्यसमा सौन्दर्य चेत र भ्यालु बुझ्न जरुरी छ । ‘विगतमा पढ्न सजिलो थियो, लेख्न गाह्रो थियो । अहिले एआईको प्रयोगसँगै लेख्न सजिलो भयो, पढ्न गाह्रो भयो । टेक्नोलोजी पावरफुल हुँदै गयो ,’ राईले भनिन् ।
रास्वपाका नेतासमेत रहेका महेश भण्डारीले कन्टेन्ट क्रियट गर्दा राजनीतिक विषय जोडेर कसैलाई सहीलाई गलत र गलतलाई सही भनिएको भए सच्याउन तयार रहेको उल्लेख गरे । एआईबारे पत्रकार जानकार हुनुपर्ने बताउँदै उनले एआईसँग पत्रकार डराउन नहुने जनाए । ‘हाम्रो पहिचान भनेको हाम्रो रहनसहन, भेषभूषा हो । हाम्रो बिरासत पावरफूल छ,’ भण्डारीले भने, ‘एआईसँग डराउनुपर्दैन । जनतामा के छ भन्ने प्रकटीकरण सोसल मिडियामा हुन्छ ।’
करिब १ घण्टा चलेको उक्त सेसनमा प्रताप बानियाँ, आनन्द भट्टराई, विनोद लामिछाने र मन क्षत्रीले जिज्ञासा राखेका थिए ।










