काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा ओमानलाई १० रनले पराजित गर्दै अंकतालिकामा छैटौं स्थान पक्का गरेको छ ।
सोमबार अल अमेरत ग्राउन्डमा भएको खेलमा नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २७० रन मात्रै बनाउन सक्यो ।
ओमानका जतिन्दर सिंहले ८९ र हम्माद मिर्जाले ८७ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । अन्तिम ओभरमा २३ रन आवश्यक हुँदा दीपेन्द्रसिंह ऐरीले कसिलो बलिङ गर्दै नेपालको जित सुनिश्चित गरे । ओमानका हस्नैन शाह २३ बलमा ४० रन बनाएर अविजित रहे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २८० रन बनाएको थियो । नेपालका रोहित पौडेलले ८०, दीपेन्द्रसिंह ऐरीले ६९ र देव खनालले ५७ रनको योगदान दिए । रोहित र दीपेन्द्रले तेस्रो विकेटका लागि १३९ रनको साझेदारी गरेका थिए ।
यो जितसँगै नेपालले ३६ खेलबाट ३० अंक जोड्दै छैटौं स्थान हासिल गरेको छ । यसअघि क्यानडासँग पराजित भएपछि नेपाल सातौं स्थानमा झरेको थियो । लिग–२ को शीर्ष ६ मा रहने टोलीको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगिने सम्भावना बलियो हुने भएकाले नेपालको यो जित महत्त्वपूर्ण बनेको छ ।









