पोखरा । दुर्गम क्षेत्रका हवाई उडान स्थगन तथा नियमित उडान सञ्चालनमा भइरहेको अवरोधप्रति ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीले गम्भीर ध्यानाकर्षण गराएको छ।
समिट एयर लिमिटेडले २१ अक्टोबर २०२६ देखि पोखरा–जोमसोम–पोखरा उडान अर्को सिजनसम्म सञ्चालन नगर्ने तथा तारा एयर प्रालिले ११ अक्टोबर २०२६ देखि अर्को सूचना जारी नभएसम्म जोमसोम आवतजावतका उडान स्थगन गर्ने सूचनाप्रति टान गण्डकीले चिन्ता व्यक्त गरेको हो।
पोखरा–जोमसोम हवाई मार्ग मुस्ताङ, कागबेनी तथा प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ पुग्ने स्वदेशी तथा विदेशी पर्यटक, पदयात्री र तीर्थयात्रीका लागि महत्त्वपूर्ण यातायातको माध्यम हो। कालीगण्डकी नदीमा आएको बाढी तथा पहिरोका कारण बेनी–जोमसोम–कोरला सडकखण्डमा क्षति पुगेर सडक यातायातसमेत प्रभावित भइरहेको अवस्थामा हवाई सेवा स्थगनले यात्रुको आवागमन थप कठिन बनाउने टानको भनाइ छ।
यस्तो अवस्थाले आकस्मिक बिरामी, दुर्घटनामा परेका व्यक्ति तथा प्राकृतिक विपद्का पीडितको उद्धारमा समेत गम्भीर चुनौती उत्पन्न गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ।
अन्नपूर्ण चक्रीय पदमार्ग र उपल्लो मुस्ताङ गण्डकी प्रदेशका महत्त्वपूर्ण अन्तर्राष्ट्रिय पर्यटन गन्तव्य हुन्। यी क्षेत्रमा हवाई सेवा सहज उपलब्ध नहुँदा पर्यटकको पूर्वनिर्धारित यात्रा प्रभावित हुनुका साथै ट्रेकिङ तथा ट्राभल कम्पनी, होटल व्यवसायी, गाइड, भरिया र स्थानीय समुदायको रोजगारी तथा आयआर्जनमा असर पर्न सक्ने टानले जनाएको छ।
निजी वायुसेवा कम्पनीको उडान स्थगन हुँदा वैकल्पिक सेवा उपलब्ध गराउन नेपाल वायुसेवा निगमको दुर्गम उडान भर्न सक्ने जहाज तथा सञ्चालन क्षमता पर्याप्त नहुँदा समस्या थप जटिल बन्न सक्ने भन्दै टानले दुर्गम उडानका लागि आवश्यक जहाज तथा क्षमता विस्तार गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
टान गण्डकीले हवाई सुरक्षालाई सर्वोपरि मान्दै मौसम, प्राविधिक अवस्था र सुरक्षा मापदण्डको पूर्ण पालना गर्नुपर्नेमा जोड दिएको छ। तर, सुरक्षा मापदण्डभित्र रही सम्भव भएसम्म नियमित उडान सञ्चालन गर्न र सेवा स्थगन गर्नुपर्ने अवस्थामा यात्रुका लागि भरपर्दो वैकल्पिक व्यवस्था तथा आपत्कालीन उद्धार सेवा सुनिश्चित गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ।
टान गण्डकीका अध्यक्ष तीर्थराज सुवेदीद्वारा आइतबार जारी विज्ञप्तिमा नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगम तथा सम्बन्धित वायुसेवा कम्पनीहरूलाई उडान स्थगनसम्बन्धी निर्णय पुनरावलोकन गरी पोखरा–जोमसोम–पोखरालगायत दुर्गम क्षेत्रका हवाई उडान यथाशीघ्र नियमित गर्न माग गरिएको छ।
साथै, दुर्गम क्षेत्रको पर्यटन, यात्रुको सुरक्षित आवागमन र मानवीय उद्धारलाई प्राथमिकतामा राखी दीर्घकालीन समाधानका लागि तत्काल पहल गर्न टान गण्डकीले अनुरोध गरेको छ।









