आज महानवमी : देवीको आराधना, दशैँको उल्लास

सिटी पोखरा डेक्स
  • ख-
  • ख
  • ख+

पोखरा । बडादशैँको नवौँ दिन आज महानवमी पर्व देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । महानवमीका अवसरमा दुर्गा भवानीको पूजा आराधना गर्न पोखरासहित देशका विभिन्न शक्तिपीठ तथा देवी मन्दिरमा भक्तजनको भिड लाग्ने गर्दछ ।

पोखराका प्रसिद्ध धार्मिक स्थल विन्ध्यवासिनी मन्दिर, तालबाराही मन्दिर, भद्रकाली मन्दिर तथा अकलादेवी मन्दिरमा महानवमीका अवसरमा विशेष पूजाआजा हुने गर्दछ । देवीको दर्शन तथा पूजा आराधना गर्न आउने भक्तजनले दशैँको धार्मिक रौनक थप्ने गरेका छन् ।

काठमाडौं उपत्यकाका गुह्येश्वरी, दक्षिणकाली, भद्रकाली, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती र तलेजु भवानी मन्दिर पनि महानवमीका प्रमुख धार्मिक गन्तव्य हुन् । त्यस्तै, गोरखाको मनकामना, ताप्लेजुङको पाथीभरा, काभ्रेको पलाञ्चोक भगवती, बागलुङ कालिका, नवलपुरको मौलाकालिका, नेपालगञ्जको बागेश्वरी, सप्तरीको छिन्नमस्ता भगवती र डोटीको शैलेश्वरी मन्दिरमा पनि दशैँका बेला विशेष पूजाआजा गरिन्छ ।

महानवमीमा देवी दुर्गाका साथै महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा आराधना गर्ने धार्मिक परम्परा छ । यस दिन कतिपय स्थानमा हवन, बलिपूजा तथा हातहतियार र औजारको पूजा गर्ने चलनसमेत रहेको छ ।

नवरात्रको अन्तिम दिनका रूपमा रहेको महानवमीले शक्ति, साहस र आस्थाको सन्देश दिने धार्मिक विश्वास छ । महानवमीसँगै बडादशैँको मुख्य दिन विजयादशमीको उल्लास पनि नजिकिएको छ । विजयादशमीमा परिवारका ज्येष्ठ सदस्यबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरी पर्व मनाउने परम्परा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्