एजेन्सी। विश्वका धनी व्यक्ति इलन मस्कले आगामी वर्ष अमेरिकाका प्रत्येक बालबालिकालाई आफ्नो रकेट निर्माण कम्पनी स्पेसएक्सको एक–एक कित्ता सेयर दिने घोषणा गरेका छन् ।
मस्कले सामाजिक सञ्जाल एक्समार्फत यस्तो घोषणा गरेका हुन् । अमेरिकामा करिब ७ करोड २० लाख बालबालिका रहेको अनुमानका आधारमा यो योजनाको कुल मूल्य करिब १० अर्ब ५२ करोड डलर हुने बताइएको छ ।
तर, सेयर वितरणको प्रक्रिया, योग्य बालबालिकाको मापदण्ड र सेयर उनीहरूको नाममा कसरी राखिने भन्नेबारे मस्कले विस्तृत जानकारी दिएका छैनन् ।
अमेरिकामा नाबालिगका नाममा सेयर राख्न अभिभावकको व्यवस्थापनमा सञ्चालन हुने ‘कस्टोडियल एकाउन्ट’ प्रयोग गर्न सकिन्छ । यद्यपि, मस्कको योजनामा यही व्यवस्था लागू हुने वा नहुने स्पष्ट भएको छैन ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारले पनि निश्चित मापदण्ड पूरा गर्ने बालबालिकाका लागि ‘ट्रम्प एकाउन्ट्स’ योजना ल्याएको छ । यसअन्तर्गत योग्य बालबालिकाको खातामा सरकारले एकमुस्ट एक हजार डलर जम्मा गर्ने व्यवस्था छ ।
मस्कको घोषणाको कार्यान्वयन प्रक्रिया र यसको सम्भावित राजनीतिक प्रभावबारे पनि चासो बढेको छ । तर, सेयर वितरणको विस्तृत योजना भने सार्वजनिक हुन बाँकी छ ।









