पोखरा । पोखरा महानगरपालिका–२९, लेखनाथको नौबिसे सिसुवामा तेस्रो ‘दाईँ महोत्सव–२०८३’ आयोजना हुने भएको छ। महोत्सव आगामी मंसिर १२ गते शनिबार बिहान ९ बजेदेखि सुरु हुने आयोजकले जनाएका छन्।
पोखरा पर्यटन परिषद्को आयोजना तथा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा ‘पोखरा सबै मौसमका लागि’ (पोखरा फर अल सिजन) भन्ने मूल नारासहित महोत्सव हुन लागेको हो। वर्षभरि पोखरालाई पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले २०८१ सालदेखि दाईँ महोत्सव सुरु गरिएको कार्यक्रम संयोजक हरिराम अधिकारीले जानकारी दिए।
महोत्सव स्थल परिषद्ले प्रत्येक वर्ष असार १५ गते रोपाईं महोत्सव आयोजना गर्दै आएको स्थान नजिकै रहेको अध्यक्ष हरि भुजेलले बताए। बढ्दो सहरीकरण र बदलिँदो जीवनशैलीका बीच लोपोन्मुख परम्परागत खेती प्रणालीको संरक्षण, किसानलाई प्रोत्साहन तथा कृषि र पर्यटनलाई जोड्ने उद्देश्यले महोत्सव आयोजना गरिएको पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले बताए। ‘किसानलाई प्रोत्साहित गर्दै कृषि र पर्यटनलाई जोड्ने उद्देश्य हो हाम्रो,’ उनले भने।
महोत्सवमा चार हल गोरुबाट दाईँ लगाइनेछ भने १७ जना दँदेराले गोरु धपाउने, दाईँ लगाउने, पराल बाँध्ने र कुनियो लगाउनेलगायतका परम्परागत कार्य गर्नेछन्।
धान चुट्ने, धानको राश बनाउने र बताउने प्रक्रिया पनि प्रदर्शन गरिने अध्यक्ष भुजेलले जानकारी दिए। परम्परागत दाईँको झल्को दिने गरी खाजा तथा खाना परालमाथि र बारीको पाटामा बसेर खाने व्यवस्था मिलाइएको उनले बताए।
महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटक, विभिन्न विद्यालयका विद्यार्थी र सर्वसाधारण सहभागी हुने कार्यक्रम संयोजक अधिकारीले बताए। उनका अनुसार हालसम्म ५० जना विदेशी पर्यटकले सहभागिताका लागि नाम टिपाएका छन्।
मौलिक तथा परम्परागत दाईँको संरक्षण र प्रवर्द्धनका लागि दँदेरा लगाउने, गुन्द्री बुन्ने र लठ्ठो तान्ने प्रतियोगितासमेत आयोजना गरिनेछ। प्रतियोगितामा विजयी हुने तथा सबैभन्दा धेरै धान उत्पादन गर्ने किसानलाई पुरस्कृत गरिने उनले जानकारी दिए।
पोखरा महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले महोत्सवमार्फत परम्परागत कृषि प्रणालीको प्रवर्द्धन गर्दै किसानलाई गोरु पाल्न प्रोत्साहित गरिने बताए।
नेपाल पर्यटन बोर्डका सदस्य सन्तोष पोखरेलले परम्परागत कृषिलाई पर्यटनसँग जोडेर समृद्धि हासिल गर्न सकिने बताउँदै सडक महोत्सवजस्तै दाईँ महोत्सवलाई पनि पर्यटकको आकर्षण बनाउनुपर्ने धारणा राखे।









