दूधको मूल्य बढाउन किसानको माग, सम्बोधन नभए आन्दोलनको चेतावनी

सिटी पोखरा डेक्स
  • ख-
  • ख
  • ख+

पाेखरा । दूधको मूल्य वैज्ञानिक ढंगले निर्धारण गरी बढाउन दुग्ध उत्पादक किसानले सरकारसँग माग गरेका छन्। सप्त गण्डकी दुग्ध उत्पादक सहकारी संघ लिमिटेड, पोखराले पत्रकार सम्मेलनमार्फत किसानले पाउने दूधको मूल्य कम्तीमा प्रतिलिटर ८० रुपैयाँ कायम गर्न माग गर्दै उक्त माग सम्बोधन नभए आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने चेतावनी दिएको हो।

संघले दूध उत्पादनमा लाग्ने दाना, चोकर, पशु आहार, औषधोपचार, श्रम, ढुवानीलगायत खर्च निरन्तर बढिरहेको तर किसानले पाउने दूधको मूल्य उत्पादन लागतअनुसार समायोजन हुन नसकेको जनाएको छ। अन्य दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दै जाँदा दूध उत्पादक किसान भने उचित मूल्य नपाएर आर्थिक संकटमा परेको संघको भनाइ छ।

संघका अध्यक्ष नवराज बरालले भौगोलिक अवस्था, पशु आहारको उपलब्धता, हावापानी, ढुवानी दूरी, श्रम लागत तथा पशुपालन प्रणालीका आधारमा दूध उत्पादन लागत फरक हुने भएकाले वैज्ञानिक र व्यावहारिक मूल्य निर्धारण प्रणाली लागू गर्नुपर्ने बताए।

हाल गुणस्तरका आधारमा किसानले प्रतिलिटर करिब ६८ देखि ७१ रुपैयाँसम्म दूधको मूल्य प्राप्त गरिरहेको उल्लेख गर्दै संघले उक्त मूल्यले किसानको वास्तविक उत्पादन लागत र श्रमको उचित प्रतिफल सुनिश्चित गर्न नसकेको जनाएको छ। पछिल्लो तीन वर्षदेखि किसानले दूधको मूल्य लागतअनुसार समायोजन गर्न माग गर्दै आए पनि सरकारले अपेक्षित निर्णय लिन नसकेको संघको आरोप छ।

संघका अनुसार सप्त गण्डकी दुग्ध उत्पादक सहकारी संघअन्तर्गत आबद्ध ४२ वटा सहकारी संस्थामा करिब ५ हजार ५०० किसान परिवार आबद्ध छन्। त्यस्तै, सहकारीमा आबद्ध नभई निजी फार्ममार्फत दूध बिक्री गर्ने करिब ६ हजार किसान परिवारसमेत गरी कास्की जिल्लामा करिब ११ हजार ५०० परिवार दुग्ध उत्पादन व्यवसायमा संलग्न छन्।

दूधको उचित मूल्य नपाउँदा किसान व्यवसायबाट पलायन हुने क्रम बढ्न सक्ने र त्यसले ग्रामीण अर्थतन्त्र, रोजगारी तथा देशको दुग्ध आत्मनिर्भरतालाई समेत असर पार्ने संघले जनाएको छ।

किसानलाई दुग्ध उत्पादन व्यवसायमा टिकाइराख्न उपभोक्ताको हित र बजारको अवस्थालाई समेत ध्यानमा राख्दै उत्पादन लागत, भौगोलिक विविधता तथा किसानको श्रमलाई मूल्यांकन गरी दूधको मूल्य कम्तीमा प्रतिलिटर ८० रुपैयाँ कायम गर्न संघले माग गरेको छ।

दूध बिक्री गरेबापतको रकम समयमै भुक्तानी हुने व्यवस्था गर्न, पशु स्वास्थ्य सेवा, नियमित खोप तथा औषधोपचार, पशु आहारमा सहुलियत, पशु बीमा तथा रोग नियन्त्रण कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न पनि संघले सरकार तथा सम्बन्धित निकायसँग माग गरेको छ। कृत्रिम गर्भाधान सेवा निःशुल्क उपलब्ध गराउन र उत्पादन लागतका आधारमा अनुदानको व्यवस्था गर्नसमेत आग्रह गरिएको छ।

संघले किसानको माग बेवास्ता गरिएमा केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडले सञ्चालन गर्ने आन्दोलन तथा संघर्षका कार्यक्रमप्रति ऐक्यबद्धता जनाउँदै कास्की जिल्लाबाट समेत थप दबाबमूलक तथा संघर्षका कार्यक्रम सञ्चालन गर्न बाध्य हुने चेतावनी दिएको छ।

किसानको श्रमको सम्मान र उचित मूल्यको सुनिश्चितता नै नेपालको दुग्ध क्षेत्रको दिगो विकासको आधार रहेको संघले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्