आज महाअष्टमी पर्व, पोखराका शक्तिपीठमा विशेष पूजाआराधना

सिटी पोखरा डेक्स
  • ख-
  • ख
  • ख+

पोखरा ।
नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज महाअष्टमी पर्व मनाइँदै छ। महाअष्टमीका अवसरमा पोखराका प्रमुख शक्तिपीठ विन्ध्यवासिनी, तालबाराही, भद्रकालीलगायतका मन्दिरमा दुर्गा भवानीको पूजाआराधना गरिन्छ।

पोखराको विन्ध्यवासिनी मन्दिर, फेवातालको बीचमा रहेको तालबाराही मन्दिर तथा भद्रकाली मन्दिर धार्मिक आस्थाका प्रमुख केन्द्र हुन्। बडादसैँका अवसरमा यी मन्दिरमा देवीको दर्शन तथा पूजाआराधना गर्न भक्तजन पुग्ने गर्छन्।

महाअष्टमीमा देवी दुर्गाको शक्तिस्वरूप महाकालीको विशेष पूजा गरिन्छ। घरघरमा स्थापना गरिएको दसैँघरमा पूजा गर्ने, दुर्गा सप्तशती तथा चण्डी पाठ गर्ने र परिवारको सुख, शान्ति एवं समृद्धिको कामना गर्ने परम्परा छ।

यस दिन परम्पराअनुसार शक्तिपीठमा पशुबलि दिने चलनसमेत छ। बलि नदिनेहरूले नरिवल, कुभिण्डोलगायतका सामग्री चढाएर देवीको आराधना गर्छन्। महाअष्टमीको राति कालरात्रि पूजा गर्ने धार्मिक मान्यता पनि रहेको छ।

दुर्गा भवानीको पूजा गरी शक्ति र समृद्धिको कामना गरिने महाअष्टमीले नेपाली समाजमा धार्मिक आस्था, सांस्कृतिक परम्परा र पारिवारिक एकताको महत्त्वलाई उजागर गर्दै आएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्