आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

सिटी पोखरा डेक्स
  • ख-
  • ख
  • ख+

पाेखरा । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमी पर्व हर्षोल्लासका साथ मनाइँदैछ। आश्विन शुक्ल दशमीका दिन मनाइने विजयादशमीमा नवदुर्गा भवानीको पूजा–आराधना गरी देवीको प्रसादस्वरूप मान्यजनबाट टीका, जमरा तथा आशीर्वाद ग्रहण गर्ने परम्परा छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष विजयादशमीको टीका लगाउने उत्तम साइत बुधबार बिहान १० बजेर २६ मिनेटमा रहेको छ।

समितिका अनुसार विजयादशमीका दिन बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जन गरी बिहान १० बजेर २६ मिनेटको शुभ साइतमा मान्यजनबाट टीका, जमरा तथा आशीर्वाद ग्रहण गर्न सकिनेछ। टीका थाप्ने व्यक्ति पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ।

विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि शुभ साइतमै टीका लगाउन चाहनेका लागि उक्त समय निर्धारण गरिएको समितिका अध्यक्ष सहप्रा. डा. पुरुषोत्तम भट्टराईले जानकारी दिए। राज्य सञ्चालकहरूले भने समितिले निर्धारण गरेको साइतमै मान्यजनबाट टीका तथा प्रसाद ग्रहण गर्नुपर्ने उनले बताए।

दसैँमा परिवारका सदस्य तथा आफन्तजन एकै ठाउँमा भेला भई खुसी साटासाट गर्ने, आशीर्वाद लिने र आपसी सद्भाव तथा आत्मीयता बढाउने गरिन्छ। विभिन्न पेसा तथा व्यवसायका सिलसिलामा आफ्नो थातथलोबाट टाढा रहेका नेपालीहरू दसैँ मनाउन घर फर्कने गर्छन्।

नेपालका विभिन्न भागमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म टीका लगाउने चलन छ भने केही स्थानमा विजयादशमीका दिन मात्रै टीका लगाउने परम्परा रहेको छ। शरद ऋतुको रमणीय वातावरणमा मनाइने दसैँ धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्त्व बोकेको नेपालीहरूको महान् पर्व हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्