हनुमान जयन्तीमा पाेखरामा माेटरसाइकल र्याली हुने

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान जन्मजयन्ती विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ ।

चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानको पूजा आराधना गरेमा  रोग व्याधि, बाधा, राजाको भय, प्राकृतिक शक्तिको बाधा, पिचासी शक्ति, भूत, नकारात्मक तत्व, बतास, खोला, आगो, राक्षसी शक्तिको प्रकोप र बेतालबाट पनि मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । हनुमान जयन्तीमा देशभरका हनुमान मन्दिरमा पूजा आराधना गरिन्छ ।

यसै अवसरमा विश्व हिन्दु परिषद नेपाल कास्कीले मंगलवार माेटरसाइकल र्याली गर्ने भएकाे छ । नीलकण्ठ महादेव मन्दिर नारायणस्थानबाट निस्कने र्यालीले महानगरका विभिन्न ठाउँकाे परिक्रमा गर्ने विश्व हिन्दु परिषद नेपालका महासचिव जितेन्द्र सिंहले साेमवार आयाेजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

यसैविच नीलकण्ठ महादेव आश्रम सेवा समिति तथा सार्वजनिक हनुमान पुजा समितिको संयुक्त आयोजनामा  भगवान श्री रामभक्त पवन पुत्र हनुमानको पूजा आराधना साथै विभिन्न कार्यक्रमका गरि हनुमान जयन्ती मनाईने हिन्दु स्वंय सेवक संघका सागर अधिकारीले बताए ।

संस्कृत व्याकरणअनुसार ‘हनु’ धातुमा ‘मतुप’ प्रत्यय लागेर हनुमान शब्द बनेको छ । हनुको अर्थ चिउँडो हो । यो हन् धातुबाट बनेको छ । ‘हन्’ धातुको अर्थ हिंसा अथवा गति भन्ने हुन्छ ।

अतः हनुमान शब्दको अर्थ वेगवान् गतियुक्त शक्ति भन्ने हुन्छ । हनुको अर्को अर्थ आज्ञापालक पनि भनिएको छ । त्यसैले पनि हनुमान भगवान् रामभक्त थिए भनिन्छ । भगवान् रामको जीवनमा भएका घटनाले हनुमानको व्यक्तित्वलाई सर्वप्रतिष्ठित ‘देव’ बनाइदियो ।

स्कन्द पुराणको अवन्तिखण्डमा हनुमानभन्दा जगत्मा ठूलो प्राणी कोही छैन भन्ने व्याख्या गरिएको छ । परब्रह्म, उत्साह, मति, प्रताप, सुशीलता, माधुर्य, नीति, गाम्भीर्य, चातुर्य, सुवीर्य, धैर्य आदि क्षेत्रमा हनुमानभन्दा अर्को ठूलो कोही पनि छैन भनी वर्णन गरिएको छ ।

 हनुमानलाई बजरङ्गबलि पनि भनिन्छ किनकि हनुमानको शरीर एक बज्रको समान थियो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्