पहिरोमा परी कास्कीमा दुई बालबालिकाको मृत्यु

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पहिरोमा परी कास्कीमा दुई जना बालबालिकाको मृत्यु भएको छ ।

मादी गाउँपालिका–५ तितेपानीका प्रकाश रानाभाटकी १३ वर्षीय छोरी आयुश्मा रानाभाट र पोखरा महानगर–२७ आरुपाटाका हरि सुनारका तीन वर्षका छोरा अनमोल सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

गएराति तितेपानीका प्रकाश रानाभाटको घरपछाडिको ढिस्को खसेर हजुरआमासँगै सुतेकी आयुश्मा रानाभाटको मृत्यु भएको हो । हजुरआमा ७० वर्षीय लालमायालाई सकुशल उद्धार गरिएको छ ।

यस्तै, आरुपाटाका हरि सुनारको घर पुरिँदा छोरा अनमोलको मृत्यु भएको हो । पहिरोमा परी हरिकी श्रीमती २७ वर्षीय रितु सुनार घाइते भएकी छन् ।

उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । हरि सुनार र छोरी ९ वर्षकी अञ्जलीको सकुसल उद्धार गरिएको छ ।

मनसुनी वर्षा सक्रिय भएपछि मङ्गलबार रातिबाट लगातार भारी वर्षा भइरहेको छ । वर्षाका कारण नदीका सतहहरू बढेका छन् । पोखरा १४ को चाउथेमा पृथ्वीराज मार्गको सडक भासिएको छ ।

प्रहरीले अहिले एकतर्फी रूपमा सडक सुचारु गराएको छ । वर्षाका कारण पोखरा ७ र पोखरा ३३ का केही घर डुबानमा परेका छन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधवार बिहान जारी गरेको नियमित बुलेटिनमा केही स्थानमा आगामी तीन दिनसम्म वर्षा हुने जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्