विपि काेइरालाका चर्चित उपन्यास सुम्निमा र मोदी आइन पुस्तकको चर्चा

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाका चर्चित २ उपन्यासमाथि पोखरामा चर्चा गरिएको छ । नेपाली कांग्रेस विपी स्मृति पुस्तकालय गण्डकी प्रदेशले शुक्रबार आयोजना गरिएको कार्यक्रममा कोइरालाका उपन्यास ‘सुम्निमा’ र ‘मोदी आइन’माथि चर्चा गरिएको हो ।

कार्यक्रममा डा भानु कँडेलले सुम्निमा र डा नवराज न्यौपानेले मोदी आइन उपन्यासको परिचर्चा गरे।

डा. न्यौपानेले मोदी आइन पौराणिक र लौकिक आख्यानको संयोजन भएको उल्लेख गरे। उनले भने, ‘मोदी आइनमा विपीपले गीताको पुनर्पठन गरेका छन्, यसमा उनको राजनीतिक र साहित्यिक विचार प्रस्तुत भएको छ ।’

सुम्निमाका परिचर्चाकार कँडेलले परम्परा र आधुनिकताबिचको द्वन्द्वको सामना गर्दै संक्रमणमा रहेको नेपाली समाजको सजीव चित्रण भएको जनाए । यसको अप्रत्यक्ष रुपमा विविधताबिच एकतालाई पनि बढावा दिएको उनको भनाइ छ।

कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले विपीका सबै सिर्जना उत्कृष्ट रहेको जनाउँदै यथासम्भव सबै सिर्जना पढ्न आग्रह गरे । उनले भने, ‘उहाँले व्यक्ति स्वतन्त्रतामा जोड दिनुभएको छ । हाम्रो यात्रा समाजवादतिर हो तर कम्युनिस्टहरुले भनेको जस्तो समाजवाद होइन ।’

सभापति शर्माले विपीको समाजवाद सबैले अंगीकार गर्न सक्ने दाबी गर्दै थपे, ‘विपीको समाजवाद जोसुकैले जीवन पद्धतिमा लागू गर्न सक्छ तर ऊ कांग्रेस नबन्न पनि सक्छ ।’ परिवर्तन, शुद्धिकरण, मनोविज्ञान र साहित्यको गहिराइ अनुभूत गर्न विपीका कृतिहरु पढ्नैपर्ने उनको भनाइ छ ।

विपी स्मृति पुस्तकालय गण्डकी प्रदेशका संयोजक प्राडा कुसुमाकर न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा मधु बास्तोला, कमल सापकोटा लगायतले बोलेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्