पोखरा । होटल संघ पोखरा नेपालका नवनिर्वाचित पदाधिकारी र मनोनित सदस्यहरुको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । पोखराको लेकसाइड स्थित संघको कार्यालयमा सोमबार आयोजित समारोहमा निर्वाचन मण्डलका संयोजक भरतराज पराजुलीले निर्वाचित पदाधिकारीलाई सपथग्रहण गराएका थिए ।
चारजना मनोनित सदस्यलाई भने नवनिर्वाचित अध्यक्ष लक्ष्मण सुवेदीले सपथग्रहण गराएका थिए । मनोनित सदस्यमा ट्रेकर्स लजका सरोज अधिकारी, होटल रोमान्टिकाका मोहदत्त भुसाल, होटल सनफ्लावरका शिवप्रसाद अधिकारी र होटल ट्रेकर्स इनका महादेव भण्डारी रहेका छन् । संघको गत विहीबार सम्पन्न २१ औं अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गरेको थियो ।
कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गरेकोमा निर्वाचन समितिका संयोजक एवम् सदस्यहरु, होटल संघ नेपाल, संस्थाका संस्थापक अध्यक्ष, पुर्व अध्यक्ष एवम् सल्लाहकार, पदाधिकारी, कार्यसमिति सदस्य, साधारण सदस्य, अधिवेशनमा प्रयोजन गरी सहयोग गरेका एइजिज सफ्टवेर, एलिट मोटर्स, होम साज ट्रेडिङ र नियोकस कन्सर्नलाई संघका अध्यक्ष सुवेदीले धन्यवाद ज्ञापन गरेका छन् ।
यसै गरी गत कार्यकाललाई सफल बनाउन र संस्थाको हरेक उत्सव, महोत्सव एवम् कार्यक्रमहरुलाई सम्पन्न गर्न सहयोग गरेकोमा पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार, प्रशासनिक तथा सुरक्षा निकायका प्रमुख, स्थानीय निकायका अध्यक्ष एवम् प्रमुख, होटल संघ नेपाल, पोखरा पर्यटन परिषद्, पर्यटन सँग सम्बन्धित संस्थाका अध्यक्ष, संस्थाका संस्थापक अध्यक्षहरु, पुर्व अध्यक्ष एवम् सल्लाहकारहरु, पदाधिकारी एवम् कार्यसमिति सदस्यहरु, साधारण सदस्यहरु, मिडिया एवम् संचारकर्मी र हाल सर्वसम्मत निर्वाचित पश्चात् विभिन्न माध्यामबाट नवर्निवाचित कार्यसमितिलाई वधाई एवम शुभकामना दिएका सम्पूर्ण व्यक्ति र संस्थाप्रति पनि अध्यक्ष सुवेदीले आभार प्रकट गरेका छन् ।