पोखरा महानगरमा विशेष नगर सभा बोलाउन  एमालेबाट निर्वाचित जनप्रतिनिधिको माग

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखरा महानगरपालिकामा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले विशेष नगर सभा बोलाउन माग गरेका छन् ।

बिहिबार उपप्रमुख मन्जुदेवी गुरुङको नेतृत्वमा गएको एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको समूहले मेयर धनराज आचार्यलाई भेटेर विशेष नगर सभा बोलाउन माग गरेका हुन्।

महानगरको संस्थागत सुशासन र विधिको शासन कायम गर्न वान्छनीय भएको र तत्काल नगर सभा सञ्चालन रहेकोले र विभिन्न प्रस्तावमा छलफल गरी निर्णय गर्नुपर्ने भएको भन्दै एमालेबाट निर्वाचित ८७ जनप्रतिनिधिले विशेष अधिवेशनको माग गरेका हुन् ।

सो अवसरमा पार्टीको तर्फबाट बिशेष नगरसभा माग गरिएको पत्र बाचन गर्दै एमाले संसदीय दल नेता एवं पोखरा १७ वडा अध्यक्ष राधिका शाही योगीले ३७ औ नगर कार्यपालिकाको बैठकका निर्णय खारेज गर्ने, २५ औं नगर कार्यपालिको बैठकको कर्मचारी व्यवस्थापन सम्बन्धमा भएका निर्णय पूर्ण कार्यन्वयन गर्ने एवम् स्वीकृत दरवन्दी संरचनामा नपरेका कर्मचारीलाई पदाधिकार रहेकै कार्यालयमा काज फिर्ता गर्ने लगायत ६ बुँदे माग राखिन् ।

एमालेबाट निर्वाचित ८७ जनप्रतिनिधिले विशेष अधिवेशनको माग गरेका हुन् ।नगर सभामा १ सय ७० जना सदस्य छन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १९ को उपदफा ३ एवम् पोखरा महानगर नगर सभा सञ्चालन कार्यविधि २०७४ को दफा ३ उपदफा ३ बमोजिम एमालेले विशेष नगर सभा आह्वान गर्न माग गरेको हो ।

सरकार सञ्चालन ऐन २०७४ को दफा १९ को उपदफा ३ मा सभाका एकतिहाइ सदस्यले सभाको बैठक बोलाउन आवश्यक छ भनी अध्यक्ष वा प्रमुखसमक्ष विषय कारण खुलाई लिखित अनुरोध गरेमा १५ दिनभित्र अध्यक्ष वा प्रमुखले सभाको विशेष अधिवेशन बोलाउनुपर्ने प्रावधान छ । विषेश नगर सभा एक वर्षमा २ पटक बोलाउन सकिने व्यवस्था छ ।

सोही व्यवस्थाअनुसार नगर प्रमुख धनराज आचार्यले अबको १५ दिनभित्र नगर सभा बोलाउनुपर्ने हुन्छ । नगर प्रमुख आचार्यले कानुनी प्रक्रिया बुझेर अघि बढ्ने बताए ।

६ बुँदे माग :

१. पोखरा महानगरपालिकाको ४३ औं नगर कार्यपालिकाको मिति २०७७/०८/०४ गतेकों सि नं. ८ अनुसारको दरबन्दी संरचना र पोखरा महानगरपालिकाको १४ औ नगर सभाबाट पारित निर्णय नं ५ अनुसारको दरबन्दी संरचना (अनुसूची ६) लाई महानगरपालिकाको स्थायी दरबन्दी कायम हुने गरी स्वीकृत गर्ने साथै यस महानगरपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ORGANIZATION AND MANAGEMENT SURVEY) समिति गठन गरी पूर्ण प्रतिवेदन आगामी नगर सभामा पेश गर्ने र उक्त प्रतिवेदन वमोजिम स्वीकृत दरबन्दी संरचना अनुसार स्थायी पदपूर्ति नभएसम्म हाल करार/ ज्यालादारीमा कार्यरत रहेका सम्पूर्ण कर्मचारीहरुको करार सम्झौता नवीकरण गर्ने ।

२. पोखरा महानगरपालिकाको कार्यपालिकाको बैठक सञ्चालन कार्यविधि २०७४ को दफा ११ र १२ विपरित सञ्चालन भएको ३७ औं नगर कार्यपालिकाको बैठकका निर्णयहरु खारेज गर्ने ।

३. पोखरा महानगरपालिकाको २५ औ नगर कार्यपालिकाको बैठकको कर्मचारी व्यवस्थापन सम्बन्धमा भएका निर्णय पूर्ण कार्यन्वयन गर्ने एवम् महानगरपालिकाको स्वीकृत दरबन्दी संरचनामा नपरेका कर्मचारीलाई निजहरुको पदाधिकार रहेकै कार्यालयमा काज फिर्ता गर्ने ।

४. साविक स्थानीय निकाय र हाल स्थानीय तहमा अन्यत्र पालिकामा स्थायी नियुक्ति भई यस पोखरा महानगरपालिकामा कामकाज/सरुवा भई आएका कर्मचारीहरुको अन्यत्र पालिकामा कार्यरत अवधिको आधारमा प्राप्त हुने सेवा सुविधाको दायित्व यस महानगरपालिकाले नलिने ।

 

५. महानगरपालिकाको वित्तीय सुशासन कायम गर्ने सम्बन्धमा :

क. पोखरा महानगरपालिकाको राजश्व बक्यौता असुली कार्ययोजना बनाई आगामी नगर सभामा पेश गरी कार्यान्वयन गर्ने सम्बन्धमा

ख. १५ औ नगरसभाको निर्णय अनुसार मणीपालको राजस्व छुट सम्बंधामा गठित समितीको प्रतिबेदन सार्वजनिक गर्नुपर्ने सम्बन्धमा

ग. फोहोरमैला प्रशोधनकेन्द्र को हालसम्मको प्रगती प्रतिबेदन प्रस्तुत गरी छलफल गर्नुपर्ने सम्बन्धमा

६. पोखरा महानगरपालिकाका तपशिल बमोजिमका आयोजनालाई महानगरपालिकाका गौरवका अत्यावश्यकीय आयोजनाका रुपमा स्वीकृत गरी कार्यान्वयनमा लैजाने तपशिल :

क. पोखरा सभागृह भवन निर्माण गर्ने

ख. महानगरपालिकाको प्रशासकीय भवन निर्माण गर्ने

ग. पोखरा बसपार्क निर्माण गर्ने

घ. फेवातालको मापदण्ड कार्यान्वयन गर्ने

ङ. फोहोरमैला व्यवस्थापनको लागी अत्याधुनिक प्रशोधन केन्द्र निर्माण गर्ने

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्