पोखरा । छोरेपाटन माध्यमिक विद्यालयका भूतपूर्व विद्यार्थीहरूको पुनर्मिलन कार्यक्रममा विद्यालयको हकभोगमा रहेको पर्यटकीय स्थल डेभिजफलको संरक्षणका लागि गम्भीर छलफल भएको छ। शनिबार पोखरामा आयोजित कार्यक्रममा विभिन्न वक्ताहरूले विद्यालयको स्वामित्वलाई अन्यत्र लैजाने महानगरपालिकाको प्रयासप्रति आपत्ति जनाएका थिए।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक डिल्लीराम शर्मा भुषालले डेभिजफलको जग्गा निजी कम्पनीलाई दिन खोजिएको विषयप्रति असन्तुष्टि व्यक्त गर्दै यो निर्णय गलत भएको बताए। उनले भने, “छोरेपाटन मावि गण्डकी प्रदेशकै उदाहरणीय विद्यालय हो। यहाँका २३ सयभन्दा बढी विद्यार्थीले शिक्षा हासिल गरिरहेका छन्। विद्यालयको आर्थिक स्रोतका रूपमा रहेको डेभिजफलको संरक्षण गर्नु महानगरको दायित्व हो।”
विद्यालयका सहायक प्रधानाध्यापक खेमराज वरालले यस विषयमा उचित अध्ययन र गृहकार्य नगरी गरिएको प्रयासमा गम्भीर स्वार्थ लुकेको हुनसक्ने शंका व्यक्त गरे। उनका अनुसार विद्यालयले २०३४ सालदेखि यस क्षेत्रलाई संरक्षण गर्दै आएको हो, जसबाट अहिले १०० भन्दा बढी शिक्षकलाई तलबसुविधा उपलब्ध गराउँदै आएको छ।
डेभिजफल जोगाउँ अभियानका अभियन्ता देवराज आचार्यले पनि विद्यालयले यस क्षेत्रलाई आर्थिक स्रोतका रूपमा विकास गरेको र यसको संरक्षणका लागि सबैको एकजुट प्रयास आवश्यक रहेको बताए। यसैगरी, कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, र अन्य भूपू विद्यार्थीहरूले पनि आफ्ना धारणा राख्दै डेभिजफललाई विद्यालयकै स्वामित्वमा राख्नुपर्नेमा जोड दिए।
कार्यक्रम संयोजक कविता गुरुङले छोरेपाटन माविको भूपू विद्यार्थी मञ्चले छोटो समयमै विभिन्न सकारात्मक गतिविधिहरू सञ्चालन गरेको जानकारी दिइन्। उनले पुनर्मिलन कार्यक्रममा सबैलाई सहभागी गराउँदै संस्थालाई थप सशक्त बनाउने लक्ष्य रहेको बताइन्।
कार्यक्रम मञ्चका अध्यक्ष कृष्ण रानाभाटको अध्यक्षतामा सम्पन्न भएको थियो। उपाध्यक्ष हिमलाल उपाध्यायले स्वागत मन्तव्य दिएका थिए भने सचिव शालिकराम भण्डारीले कार्यक्रम सञ्चालन गरेका थिए।
डेभिजफलको संरक्षणमा सामुदायिक र संस्थागत पहल अपरिहार्य रहेको भन्दै पुनर्मिलनले महत्वपूर्ण सन्देश दिएको सहभागीहरूले बताए।










