पत्रकार रानाभाट र आईटी विज्ञ सेन जीवन ज्योति सेवा केन्द्रद्वारा सम्मानित

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा। मानवीय सेवा र समाज कल्याणमा समर्पित पोखरा-१६, बाटुलेचौरमा अवस्थित जीवन ज्योति सेवा केन्द्रले पत्रकार कृष्ण रानाभाट र आईटी विज्ञ पितम सेन ठकुरीलाई विशेष सम्मान गरेको छ। केन्द्रद्वारा आयोजित केन्द्रीय फेलोसिप तथा लिडर उत्साहित कार्यक्रमको अवसरमा उनीहरुलाई समाजसेवा र व्यावसायिक क्षेत्रमा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिएको हो।

२०५४ सालदेखि पत्रकारितामा सक्रिय कृष्ण रानाभाट दरबारथोक मिडिया प्रालिका अध्यक्ष तथा दरबारथोक एडभर्टाइजिङ एजेन्सीका संचालक हुन्। उनले स्वतन्त्र पत्रकार संघ नेपाल कास्की शाखाको अध्यक्षता गर्नुका साथै हाइकर्स क्लब नेपालका अध्यक्षको जिम्मेवारीसमेत निर्वाह गर्दै आएका छन्। विभिन्न सामाजिक संघसंस्थामा आबद्ध रानाभाटले पत्रकारिता र समाजसेवामा उल्लेखनीय योगदान गरेका छन्।

आईटी विज्ञ पितम सेन ठकुरी वेबपेज नेपाल प्रालिका कार्यकारी निर्देशक तथा दर्शन फाउन्डेसनका अध्यक्ष हुन्। उनले विभिन्न सामाजिक संघसंस्थामार्फत समाजसेवामा सक्रिय भूमिका खेल्दै आएका छन्।

कार्यक्रमका प्रमुख अतिथि तथा संस्थाका सल्लाहकार संयोजक सागर कार्कीले दीनदुःखीलाई सक्दो सहयोग गर्न आग्रह गर्दै दान र सहयोगजस्तो पुण्य कार्य अरू कुनै नभएको बताए। संस्थाकी अध्यक्ष सृजना रिजाल कार्कीले हालसम्म दानवीरहरूको सहयोगबाट लत्ताकपडा, खाद्यान्न, र आर्थिक सहयोग उपलब्ध गराइएको जानकारी दिइन्।

कार्यक्रममा विभिन्न जिल्लाबाट आएका शाखा तथा उपशाखाका पदाधिकारी र सदस्यहरूले आफ्नो अनुभव बाँडे। सोही अवसरमा पोखरा–१४, भेडिफाराम निवासी क्यान्सरपीडित अनुष विकलाई उपचारार्थ ३३,१५० रुपैयाँ नगद सहयोग प्रदान गरियो।

संस्थाकी अध्यक्ष सृजना रिजाल कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य केन्द्रीय सहसचिव लक्ष्मी तामाङले गरेकी थिइन् भने कार्यक्रम सञ्चालन केन्द्रीय सचिव हेमा खवासले गरेकी थिइन्।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्