पोखरा । मादी गाउँपालिका-७, मेलबोट लिचु जंगल नजिकको गाईगोठमा भरुवा बन्दुक पड्किँदा बिनोद सुनार घाइते भएका छन्। घटना केही दिनअघि राति करिब ११:३० बजे भएको हो। घाइतेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको छ।
प्रहरीद्वारा गरिएको प्रारम्भिक अनुसन्धानमा उक्त भरुवा बन्दुक कुलप्रसाद विक (३२) र सुमन तामाङ (२२) ले लुकाएको खुलेको छ। खोजतलास गर्दा विकको गाईगोठभन्दा करिब १५० मिटर तल जंगलमा रातो कपडाले बेरेर लुकाइएको अवस्थामा २ फिट २.५ इन्च लामो भरुवा बन्दुक फेला परेको हो।
बन्दुकको कुनै कानुनी इजाजतपत्र नभएको पुष्टि भएपछि प्रहरीले दुबैलाई पक्राउ गरेको छ। अदालतबाट ६ दिनको म्याद थप गरी उनीहरूमाथि हातहतियार तथा खरखजना सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ। प्रहरीले यस घटनालाई गम्भीर रूपमा लिई अन्य सम्भावित आपराधिक क्रियाकलाप रोक्न थप सतर्कता अपनाएको जनाएको छ।










