पोखरा । पोखरा महानगरद्वारा सञ्चालित गण्डकी बहुप्राधिक शिक्षालयमा नयाँ भर्ना भई आएका विद्यार्थीहरूलाई आइतबार एक विशेष कार्यक्रममा स्वागत गरिएको छ। कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख एवं शिक्षालय व्यवस्थापन समितिका अध्यक्ष धनराज आचार्य हुनुहुन्थ्यो।
महानगरद्वारा संचालित यस शिक्षालयमा प्राविधिक शिक्षाको क्षेत्रमा विभिन्न कक्षाहरू सञ्चालनमा रहेका छन्, जसमा डिप्लोमा इन अटोमोवाईल इन्जिनियरिङ, डिप्लोमा इन सिभिल इन्जिनियरिङ र डिप्लोमा इन फार्मेसी प्रमुख छन्। साथै, अन्य छोटो अवधिका पाठ्यक्रमहरूमा प्रमाणपत्र तह सामान्य चिकित्सा, प्रि–डिप्लोमा औद्योगिक प्रशिक्षार्थी कार्यक्रम, बाल विकास सहजकर्ता, टायल तथा मार्बल फिक्सर, बिल्डीङ कन्स्ट्रक्सन, बिल्डीङ पेन्टर सीप परीक्षण लगायतका विविध कार्यक्रम पनि संचालित छन्।

शिक्षालयमा हाल ४०२ विद्यार्थीहरूले प्राविधिक शिक्षा अध्ययन गर्दै आएका छन्। शिक्षालयले आफ्नो शैक्षिक प्रगतिको क्रममा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। डिप्लोमा इन अटोमोवाईल इन्जिनियरिङका विद्यार्थी उजेन उदासले ९३.७५ प्रतिशत अङ्क प्राप्त गरी देशभरबाट उत्कृष्ट नतिजा हासिल गरेका छन्। यसका अतिरिक्त, छोटो अवधिको तालिम पश्चात् ५० प्रतिशत भन्दा बढी विद्यार्थीहरू व्यावसायिक क्षेत्रमा आबद्ध भएका छन्। राष्ट्रिय सीप परीक्षण केन्द्रको परीक्षामा ९० प्रतिशत प्रशिक्षार्थी उत्तीर्ण भएका छन्।
नगर प्रमुख धनराज आचार्यले शिक्षालयका विभिन्न कार्यक्रमहरूको महत्व र प्रभावको बारेमा भने, “समुदाय स्तरमा ज्ञान र सीपको विकास, रोजगारी सृजना, आर्थिक सशक्तीकरण र नवप्रवर्तनका कार्यक्रमहरू सञ्चालन गरेर हामी प्रतिस्पर्धात्मक जनशक्ति उत्पादनमा सकारात्मक प्रभाव पुर्याउँदैछौं।”
आगामी वर्षदेखि डिप्लोमा इन नर्सिङ विषयको कक्षा सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन गरिएको जनाइएको छ। यस अवसरमा शिक्षालयका ८८ जना डिप्लोमा इन अटोमोवाईल इन्जिनियरिङ र डिप्लोमा इन सिभिल इन्जिनियरिङका विद्यार्थीहरूलाई बिदाइ गरियो।
कार्यक्रममा विभिन्न सम्माननिय व्यक्तित्वहरूलाई समेत सम्मान गरिएको थियो।










