पोखरा । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र युएनडिपीको आर्थिक सहयोगमा सञ्चालित एक नयाँ परियोजना अन्तर्गत रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जनाका लागि बोर्ड बैठक सम्पन्न भएको छ। बैठकमा परियोजनाका पछिल्लो प्रगति र आगामी कार्यक्रमहरूबारे छलफल गरिएको थियो।
परियोजना अन्तर्गत, कोइकाले हरित अर्थतन्त्रमा योगदान पुर्याउने दिगो रिसाइकल र अप–साइकल (आरयू) उद्यमहरूलाई बढावा दिने र व्यवसाय इन्क्युबेशन सहायता (वित्तीय, प्राविधिक र बजार) प्रदान गर्नेछ। यसका लागि ग्रिन भेन्चर जोन (जीभीजेड) स्थापना गरिनेछ, जसले आरयू उद्यमहरूको क्षमता निर्माणमा मद्दत गर्नेछ र हरित रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ।

कोइका र युएनडिपीको सहयोगमा पोखरा महानगरपालिकाको स्वामित्वमा रहेको यस परियोजनाले चक्रीय अर्थतन्त्रको सृजनशील उपयोगमा समुदायलाई सक्रिय रूपमा परिचालन गर्ने र युवाहरूसँग जोड्ने कार्यमा योगदान पुर्याउनेछ। नगर प्रमुख धनराज आचार्यले विश्वास व्यक्त गरेअनुसार, यो परियोजना सिकाइ केन्द्रका रूपमा विकास गरिने छ र पोखरालाई एक प्रमुख पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने योजना बनाइएको छ।
परियोजना अन्तर्गत पोखरा प्रदर्शनी केन्द्रमा एक कोसेली घर पनि निर्माण हुनेछ, जहाँ रिसाइकल र अप–साइकल (आरयू) उद्यमहरूको अध्ययन अवलोकन गर्न सकिनेछ। यसका अतिरिक्त, १३६ वटा टोलहरूमा हरित रोजगारी सृजनाका लागि आवश्यक तालिम र प्रशिक्षण प्रदान गरिनेछ।

कोइकाले यस परियोजनामा ९.८ मिलियन अमेरिकी डलर र युएनडिपीले ०.८७ मिलियन अमेरिकी डलरको सहयोग गर्नेछ। बैठकमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, युएनडिपीका प्रतिनिधिहरू जुलियन चेभिल्लार्ड, कल्पना सरकार, धर्म स्वर्णकार, सुदिप अर्याल र कोइकाको तर्फबाट विकास रावल, प्रोजेक्ट म्यानेजर यमुना सुवाल लगायतको टिमको सहभागिता रहेको थियो।
यस परियोजनाले पोखरामा हरित रोजगारी र दिगो विकासका अवसरहरूको सिर्जना गर्ने र समुदायलाई समृद्ध बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।










