
पोखरा । गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरिक्षक भोला बहादुर रावलले सुरक्षाबिना कुनै कुराले पूर्णता नहुने भएकाेले नेपाल प्रहरी जनतासंगै अगाडी बढिरहेकाे बताएका छन् । शिक्षा, स्वास्थ्य, विकास वा हरेक क्षेत्रमा सुरक्षाको खाँचो रहेकोले त्यसका लागि नेपाल प्रहरीकाे दायित्व महत्वपूर्ण भएको बताए ।
पोखरा महानगरपालिका वडा नं १८ सेदीमा वाईयूके सुपर मार्केटसंगै नवनिर्मित प्रविधियुक्त प्रहरी बिटको बुधबार उद्घाटन गर्दै रावलले यहाँ बनेको प्रविधियुक्त प्रहरी बिटबाट सुरक्षाका लागि कुनै कसर बाँकी नराख्ने, सुरक्षा सेवा तथा सूचना प्रवाहको लागि महत्वपूर्ण रहने बताए ।
प्रहरीलाई विश्वास गरेर नागरिक स्तरबाट सुविधायुक्त प्रहरी बिटको स्थापनामा हातेमालो र आवश्यक्ताका लागि झक्झक्याएकोमा आभार व्यक्त गर्दै अब अगाडीका दिनहरुमा पनि सगंसंगै अगाडी बढ्नुपर्नेमा जाेड दिए ।
वाईयूके सुपर मार्केटका संचालक, समाजसेवी युवराज खतिवडाले चार वर्ष अगाडी सेदीमा आउँदा यो ठाउँ पश्चिम रुकुम जस्तो भएको अनुभूति गरेको थिएँ भने। मलाई लाग्याे अब यहाँ केहि विकासकाे काम गर्नुपर्छ र सुरक्षाकाे बन्दाेबस्त गर्नुपर्छ ।
यहाँ विकासको खाँचो रहेको र विकासका लागि सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन आवश्यक भएकोले जनप्रतिनिधि रमेश थापा, सामुदायीक प्रहरी जिल्ला समन्वय समितिका अध्यक्ष भिम पराजुली, राम राई लगायत स्थानीयले ठूलो भूमिका निर्वाह गरेको खतिबडाले बताए ।
सेदीको सुरक्षाका लागि बैदामबाट वा पामेबाट प्रहरी आउन ढिलो हुने र पर्यटकीय क्षेत्रमा पर्यटक, व्यापार व्यवसाय सबैतिर सामान्जस्यता ल्याउन गरिएको पहल आज नतिजामा परिण भएकोमा खुसि व्यक्त गरे । खतिबडाले भने, लगानी गर्न र त्यसको प्रवर्धनका लागि सुरक्षा पहिलो सर्त भएकोले बैदामका डिएसपि सन्तोष निरौलासंगकाे समन्वय र भूमिका राम्रो भएको बताए ।
यसअघि कार्यक्रममा सहभागि सबैलाई स्वागत गर्दै बैदाम प्रहरी कार्यालयका डिएसपि निरौलाले १२ वटा सिसि क्यामेरा जडान गरिएको प्रविधियुक्त प्रहरीबिटकाे शान्ति सुरक्षामा महत्वपूर्ण योगदान रहने बताए । उनले दुईवटा क्यामेरा सडकमा गुड्ने सवारी साधनको नंबरलाई कैद गर्ने क्षमताका भएको बताए ।
आफ्नो जागिरे जीवनमा उपलव्धिको काम भएको बताउँदै यो क्षेणलाई कहिल्यै भूल्न नसक्ने बताए । यस्ता कामहरुमा सबैकाे सहयोग आवश्यक छ । अँझै वडा प्रहरी कार्यालय बैदाम स्थानीयसंगै हातेमालो गरेर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने, यस अभियानमा सहयोग गर्ने सबै सहयोगदाताहरुलाई केदारेश्वर महादेवको कृपा रहिरहोस् यही कामना छ ।
कार्यक्रमका पर्यटन व्यवसायीहरु, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कि, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव वराल, स्थानीय आमा समूह, नागरिक समाजका प्रतिनिधि तथा विभिन्न संघ संस्थाका प्रतिनिधि र पत्रकारहरुको सहभागिता रहेको थियो ।
स्मरण रहोस्, वाईयूके सुपर मार्केटको दक्षिणपट्टि सुविधा सम्पन्न गाडीहरुकाे सरसफाईका लागि सरसफाइ युनिट खडा गरिएको छ । उत्तरपट्टि गाडीहरुको चार्जिङ सेन्टर स्थापना गरिएको खतिबडाले जानकारी दिए