
पोखरा । पोखराको प्रतिष्ठित व्यवसायिक समूह बिजीएन ग्रुप प्रा.लि. द्वारा संचालित बिजीएन किचेन एण्ड इलेक्ट्रोनिक्स को नयाँ आउटलेट उद्घाटन गरिएको छ। पोखरा-बागलुङ राजमार्ग तथा कोरला नाकाको प्रवेश बिन्दु हरिचोक स्थित बिजीएन कम्प्लेक्समा सो आउटलेट स्थापना गरिएको हो।
गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा ले एक औपचारिक कार्यक्रमका बीच बुधबार उद्घाटन गरेका हुन्। कार्यक्रममा मन्त्री थापाले नेपालमा “केही हुँदैन” भन्ने मानसिकता त्याग्नुपर्ने बताउँदै, आर्थिक मन्दीको चुनौतीपूर्ण अवस्थामा पनि बिजीएन ग्रुपले स्वदेशमै नयाँ व्यवसाय संचालन गरेर उदाहरणीय कार्य गरेको उल्लेख गरे।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी ले व्यवसायिक सफलताको लागि जोखिम उठाउने साहस हुनुपर्ने बताए। उनले व्यवसायलाई सेवा-केन्द्रित बनाउँदै उचित लाभ प्राप्त गर्ने नीति अवलम्बन गर्न व्यवसायीहरूलाई सुझाव दिए।
बिजीएन ग्रुपका प्रबन्ध संचालक बालकृष्ण कोइराला का अनुसार यो आउटलेट बिजीएन ग्रुपको पाँचौं प्रतिष्ठान हो। कम्पनीले आफ्नै भवनमा उपभोक्तालाई प्रत्यक्ष तथा सहज सेवा उपलब्ध गराउने उद्देश्यले किचेन तथा इलेक्ट्रोनिक्स सामाग्रीको व्यवसाय सुरु गरेको हो।
“व्यवसायी मैत्री पोखरा निर्माण गर्न र व्यावसायिक वातावरण सुधार्न हामीले यो नयाँ आउटलेट स्थापना गरेका हौं,” कोइरालाले भने। समूहले हालसम्म भौतिक पूर्वाधार निर्माण क्षेत्रमा सक्रियता देखाउँदै आएको भए पनि अब उपभोक्ताको मागलाई मध्यनजर गर्दै किचेन तथा इलेक्ट्रोनिक्स सामाग्रीमा लगानी गरेको उनले बताए।
सुरुवाती चरणमा २ करोड रुपैयाँको लागत मा संचालनमा आएको बिजीएन किचेन एण्ड इलेक्ट्रोनिक्समा ग्यास चुल्हो, हिटर, वाटर डिस्पेन्सर, वासिङ मेसिन, गिजर, इलेक्ट्रिक भाडाकुडा लगायत घरायसी तथा होटल-प्रतिष्ठानहरूका लागि आवश्यक सम्पूर्ण सामाग्री उपलब्ध छन्।
नयाँ आउटलेट उद्घाटनको अवसरमा उपभोक्ताहरूलाई १० प्रतिशत विशेष छुट को व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
कार्यक्रमको अध्यक्षता प्रबन्ध संचालक कोइरालाकी ममतामयी आमा गौरी कोइराला ले गरेकी थिइन्। बिजीएन ग्रुपले भक्तगौरी निर्माण प्रा.लि., बिजीएन ट्रेडर्स (मोटर पार्ट्स), बिजीएन निर्माण प्रा.लि. जस्ता व्यवसायिक उपक्रमहरू सफलतापूर्वक संचालन गरिरहेको छ। साथै, प्रबन्ध संचालक कोइराला विभिन्न सामाजिक संघ-संस्थामा सक्रिय भूमिका खेल्दै आएका छन्।