देशका लागि अनिष्ठ हुने काम भईरहेको छ : प्रधानमन्त्री ओली

  • ख-
  • ख+

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भित्रैका नेताबाट देशको लागि अनिष्ठ हुने काम भईरहेको बताएका छन्।

तेश्रो राष्ट्रिय महिला अधिकार दिवशका अवसरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे उनले संसदीय प्रणाली र दलिय प्रणालीमा विश्वमै कतै नहुने घटनामा नेपालमा भईरहेको बताए।

उनले नेता माधव कुमार नेपालप्रति इंगित गर्दै नेतृत्व नै धमिलो भएपछि कार्यकर्तामा त्यसमा प्रभाव पर्नु स्वभाविक भएको टिप्पणी गरे।

उनले उनीहरुले मुलुक विरुद्ध निकै ठूलो अनिष्टको काम गरिरहेको दाबी पनि गरे।

उनले भने “तीनले खाएको सपथ झुटो हो,तीनका सपथ बेइमानी हो। तीनका सपथभित्र स्वार्थ पुरा गर्ने कपट लुकेको हुन्छ । अहिले तीनले खाएका सपथ सम्झनुहोस् त। तीनले कहाँ कहाँ सपथ खाए होलान् तर देशको विरुद्ध बहुतै ठूलो अनिष्टको काम गरिरहेका छन्। जब नेतृत्व तहबाट त्यस प्रकारका कामहरु हुन्छन्। नेतृत्व तह अनुशासनहिन र अराजकता उत्रिन्छ । सम्मानीय राष्ट्रपति ज्यु कोमा गएर एकजनाले म विरोधमा आएको छु भन्नुभएछ गर्वसाथ। शरम छैन। जब नेतृत्व तह यस्तो हुन्छ माथिबाटै धमिलो पानी बगेपछि तल संग्लो कहाँबाट आउँछ ? माथिबाटै धमिलो पानी बग्ने, बगाउने काम भईरहेको छ। यो चिन्ताको विषय छ।”

राजनीतिक दल र तीनका नेताहरु अनशासनहिन, अराजक, पार्टी निर्देशन विपरित फ्लोर क्रस गर्ने, पार्टी अनुशासन नमार्ने र पार्टी फोड्ने, पार्टीका विरुद्ध जाने, अर्के उम्मेदवार उठाउने जस्ता दुनियाँको कुनै इतिहासमा नएको घटना नेपालमा भएको बताए।

उनले आफ्नो सरकार ढाल्नका लागि विश्वासको मतदान नगरेर बाहिर बस्ने त कहिले अर्को सरकार बनाउन गरिएको कसरत दलिय अनुसासन, मर्यादा, प्रणाली संसदीय प्रणाली विरुद्ध भएको बताए।

उनले पछिल्लो समय नेपाली राजनीतिमा स्याडीस प्रवृत्तिको विगविगी देखिएको टिप्पणी गरे।

उनले भने “समाजलाई अमर्यादाले एकतावद्ध बनाउदैन। परपीडक प्रवृत्तिले अर्काको आशुँमा रमाउने खालका परपीडक स्याडीस । त्यस्तो स्याडीस प्रवृत्तिको विगविगी देखिन्छ। यो गम्भीर चिन्ता र चासोको विषय हो। परपीडक, असभ्य, छाडा र अराजकतत्व अहिले पनि आफुलाई विद्धान ठान्ने । तीनको जीन्दगी खेर गएको देखेर पनि दुख लाग्छ। उच्च जिम्मेवारी र मर्यादामा रहेका व्यक्तिको अपमान र मनपरी गाली गर्नु आफ्नो बहादुरी ठान्ने प्रवृत्ति यो समाजका लागि कति हानिकारक छ ? यो कुनै अरु जीवजन्तुले होइन। आफु पढेलेखेको जान्ने सुन्ने सभ्य छु भन्ने जान्ने,भात होइन पिजा खानेहरुबाट यस्ता कामहरु भईरहेको छ।”

समाजमा बढ्दै गएको अशिष्ट र अराजक गतिविधि विरुद्ध मर्यादा, शिष्टता र सभ्यतातर्फ समाजलाई फर्काउन सभ्य समाज निर्माण गर्न जरुरी रहेको भन्दै त्यसकार्यमा लाग्न आग्रह गरे।

विभिन्न चरणको आन्दोलन र राजनीतिक योगदानका कारण संबैधानिक र कानुनी हिसाबले राज्यका सबै अंगमा महिलाको ३३ प्रतिशत सुनिश्चितताको उपलब्धी प्राप्त भएपनि कतिपयलाई यही उपलब्धि चित्त नबुझेको टिप्पणी गरे।

उनले भने “कतिपयलाई यो कुरा चित्त बुझेको छैन। कतिपयमा पुरुषप्रधानताको सामान्ती सोचले जकडिएको छ । कतिपयमा आधुनिक युगको त छोडिदिनोस्। आधुनिक युग, अझै सभ्य, अझै सुसंस्कृत हुदै जानुपर्ने हो तर केही पछाडि परेका तत्वहरु छन्, असभ्य तत्वहरु, परपीडक तत्वहरु। मानविय भावनामा उठ्नै नसकेका । तीनीहरुले सामाजिक समानता, न्याय जस्ता कुराहरु बुझ्ने त कुरा छोड्दिनुनोस् , उनीहरु परपीडकको हिसाबमा अरुको अपमान गर्ने, छाडापन, अश्लिलता, अराजकता फैलाएर समाजलाई विखण्डीत गर्ने काम गर्छन्।”

प्रधानमन्त्री ओलीले राजनीतिक स्वतन्त्रतासंग सामाजिक न्याय र समानता भएपछि मात्रै वास्तवमा लोकतान्त्रिक समाज निर्माण हुने र जनताको व्यवस्था हुने बताए।

सम्मृद्धि र समानता भएको स्थानमा लोकतान्त्रिक समाज हुने भन्दै उनले प्रजातान्त्रिक समाज निर्माणका लागि नागरिक स्वतन्त्रता, राजनीतिक हक अधिकार, सामाजिक हक अधिकार, सम्मृद्धि र न्याय सहितको समानताको सुनिश्चितता हुनुपर्ने बताए।

विगतमा महिला अधिकारका लागि भएका आन्दोलन तथा योगमाया, कमलादेवी सिंह, सहाना प्रधान लगायत नेतृहरुको भूमिका र बलिदानीको चर्चा गर्दै उहाँले ती सबैले नेपाली समाजलाई राजनीतिक र सामािजक परिर्वतन संगै चेतना वृद्धिमा सहयोग पुराएको बताए।

त्यसबेलाको आन्दोलनकै असर स्वरुप अहिले महिलाको समान अधिकारको आकांक्षा प्रकट हुने अवस्थामा आएको उनले उल्लेख गरे।

उनले महिला हिंसा न्युनीकरणका लागि महिला स्वयंम् पनि सचेत र गम्भीर हुनुपर्ने आवश्यकता औल्याएं)।

उनले भने “यो वा त्यो प्रकारका कुनै पनि महिला हिंसा , महिला हिंसा गर्ने कुरामा महिला पनि त्यत्ति कम छैनन्। महिलाहरु पनि सजग हुनुपर्छ यस्तो कुरामा। महिलामा महिलाजन्य स्नेहपुर्ण, ममतापुर्ण स्वभाव हुनुपर्छ। आफैले आफैलाई सच्याउनुपर्छ। ठिक ठाउँमा उभ्याउनुपर्छ। ठिक विचार लिनुपर्छ। ठिक व्यवहार आचरण लिनुपर्छ। हामीले महिलादिदी बहिनीहरुलाई पुरुष बहकावमा नपर्न आग्रह गर्नुपर्छ। महिला हिंसाका विरुद्ध हामी सबै अगाडि बढ्नुपर्छ। महिला समस्या, विषय र आकांक्षाहरु महिलाका मात्रै नभई सामाजिक र मानवजातिका आकांक्षा भएकाले मानवजातिको उन्नति प्रगतिका निम्ति आवश्यक आकांक्षा हुन।”

उनले महिला हक अधिकार र समानताको आन्दोलन महिलाको मात्रै हो भनेर नठान्न र पुरुषहरुलाई पनि महिलाप्रति सहयोगी , महिला आन्दोलन, आकाक्षा र प्रयासप्रति सहकारात्मक र सहयोगी भूमिका निर्वाह गर्न आग्रह गरे।

उनले पुरुषहरुले सहयोगी भूमिका निर्वाह नगरेसम्म महिला आन्दोलन सफल गराउन कठिन हुने बताए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्