
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ८ सृजनाचोकमा रहेको मनिका रेस्टुरेन्टबाट मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा तीन जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। रेस्टुरेन्टमा अवैध यौनजन्य क्रियाकलापहरू भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले छापा मारी उक्त कारबाही गरेको हो।
प्रहरीले गत २९ गते दिउँसो करिब ४:३० बजेको समयमा मनिका रेस्टुरेन्टमा छापा मारिएको थियो। उक्त अभियानमा प्रहरीले पाँच जना महिलाहरूलाई उद्धार गरी सेफ हाउसमा पठाएको छ भने रेस्टुरेन्ट सञ्चालकसहित तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा मनिका रेस्टुरेन्टका सञ्चालक ४० वर्षीय पदम लुङ्बा (मकवानपुर जिल्ला बकैया गाउँपालिका वडा नं. ४ स्थायी घर भई हाल पोखरा-८ सृजनाचोकमा बस्ने), ५१ वर्षीय तेज नारायण तिमिल्सिना (पोखरा महानगरपालिका वडा नं. ५ मालेपाटन) र २१ वर्षीय सलन गुरुङ (तनहुँ जिल्ला व्यास नगरपालिका वडा नं. ५ साँगे) रहेका छन्।
प्रहरीले उनीहरूलाई कास्की जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा छ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जनाएको छ। यस घटनाले पोखरा क्षेत्रमा मानव बेचबिखन र यौन शोषणको विद्यमानतालाई उजागर गरेको छ।
मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार मानव बेचबिखन अपराधमा संलग्नलाई बीस वर्षसम्म कैद र दुई लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था छ।