प्रत्येक १५ दिनमा पर्ने एकादशीमध्ये आषाढ शुक्लपक्षको हरिशयनी एकादशी र कार्तिक शुक्लपक्षको हरिबोधिनी एकादशी अरूभन्दा अझ विशेष महत्त्वपूर्ण मानिन्छन्। नेपाली समाजमा यी दुई एकादशीलाई ठूली एकादशी भनिन्छ र श्रद्धाभक्तिपूर्वक व्रत उपवास गरिन्छ।

आज हरिबाेधनी एकादशीमा तुलसीकाे पूजाआजा गर्दै आजका दिन भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह गर्ने चलन छ। आजको दिन अन्न खान नहुने भएकाले सखरखन्ड, पिँडालु र वनतरुल उसिनेर खाने गरिन्छ।
एकादशीका अवसरमा गंगा नदीहरुमा ताेरण तार्ने तथा फूल तार्ने प्रचलन रहेकाे छ । यस अवसरमा पाेखराकाे सेतिनदीका विभिन्न स्थानमा नुहाउने, ताेरण तथा फूल तार्नेहरुकाे भक्तजनहरुकाे भिड लाग्छ । साथै विष्णुको मन्दिरमा दर्शनार्थीको घुईचाे हुन्छ ।
वर्षभरिका २४ र अधिकमास परेका वर्ष पर्ने २६ एकादशीमध्ये हरिबोधिनी एकादशीको विशेष महत्त्व छ। यो एकादशीमध्येको अन्तिम एकादशी हो।
मंसिर कृष्णपक्षको उत्पत्तिका एकादशीबाट सुरु भएको वार्षिक एकादशी–चक्र हरिबोधिनीमा आउँदा पूरा हुन्छ। यसपछि एकादशीको अर्को वार्षिक चक्र सुरु हुन्छ।
आजका दिन पोखराको रामघाट, गाईघाट लगायतका क्षेत्रमा तोरण तार्नेहरुको भीड लाग्दछ । धादिङको नीलकण्ठ नगरपालिका वडा ४ स्थित ऐतिहासिक कालिका मन्दिरमा विशेष मेला लाग्ने गर्दछ । यसैगरी काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेष नारायण र इचँगुनारायण स्थानमा विशेष मेला लाग्दछ ।
यसैगरी नारायणहिटस्थित चातुव्र्युह नारायणस्थानमा गई पूजा, आराधना एवं दर्शन गर्नाले पनि काठमाडौँ उपत्यकाका चारै नारायणस्थानमा पुगे बराबरको फल पाइने शास्त्रीय मान्यता रहेको मन्दिरका मठाधीश डा राजेश्वरानन्दले जानकारी दिए । आजै देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ ।









