पत्रकार महासंघ कास्कीकाे कार्यालयमा तालाबन्दी

  • ख-
  • ख+

पोखरा । कास्कीका क्रियाशिल पत्रकार रञ्जन अधिकारीलाई समाचार लेखेको विषयलाई लिएर धम्की आएको घटनामा नेपाल पत्रकार महासंघ कास्की शाखाले अभिभावकत्व ग्रहण गर्न नसकेको भन्दै प्रेस चौतारी कास्कीले महासंघको भवनमा तालाबन्दी गरेको छ ।

पत्रकारहरुको छाता संगठन नै पत्रकारको अभिभावकत्व लिन असफल भएको भन्दै चौतारीले शनिबार तालाबन्दी गरेको हो । अधिकारीले लेखेको समाचारको विषयलाई लिएर नवलपरासी घर भई पोखरा ११ बस्दै आएका श्रीकृष्ण श्रेष्ठले अधिकारीलाई तीन दिनसम्म फोन मार्फत् तनाव दिने, फेसबुक म्यासेन्जर र एसएमएसमार्फत् धम्की दिने, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको पावर चलाउँछु भन्दै धाकधम्की लगाउने कार्य भएकोमा प्रेस चौतारी कास्की शाखाको गम्भीर ध्यानाकर्षण भएको र यसमा पत्रकारहरुको संगठनले केही नबोलेको भन्दै तालाबन्दी गरिएको प्रेस चौतारीले जनाएको छ ।

साथै, यस्तो निन्दनिय कार्यमा संलग्न व्यक्ति श्रीकृष्ण श्रेष्ठ र प्रयोग भएका गैह्रपत्रकार सफल सुवेदीलाई कारबाहीको दायरामा नल्याउदासम्म तालाबन्दी नखोलिने प्रेस चौतारीले जनाएको छ । जबसम्म पत्रकारको न्याय, हकहितका लागि महासंघले काम गरेको अनुभूति हुँदैन तबसम्म ताला नखोलिने प्रेस चौतारी कास्कीका संयोजक अर्जुन गिरीले बताए ।

यस्तै, पोखरा न्यूजमा पत्रकार गणेश बरालले लेखेको समाचारलाई समेत गैह्रपत्रकार लगाएर सोहि पक्षबाट खण्डन गराउने हर्कत भएकोमा पनि प्रेस चौतारी कास्कीले आपत्ति जनाएको छ ।

पत्रकार महासंघ कास्कीकी अध्यक्ष बिमला भण्डारीले महासंघले पत्रकारको अभिभावकत्व ग्रहण गर्दै आएको र अहिले पनि गरिरहेको बताइन् ।

अनलाइन पत्रकार संघ गण्डकी प्रदेशका अध्यक्ष कमल सुवेदीले दोषी जो कोहीलाई पनि कानुनको दायरामा ल्याएर कारबाही गर्नुुपर्ने बताए ।

फोनिज गण्डकीका अध्यक्ष एमबी आस्थाले पत्रकार महासंघ पत्रकारहरुको संस्था भएकाले पत्रकारकै लागि काम गर्नुपर्ने बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्