पोखरा ।
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको स्वास्थ्य अवस्था बारे नेकपा एमालेका महासचिव तथा पूर्व उपप्रधानमन्त्री इश्वर पोखरेलले जानकारी लिएका छन् ।
नेकपा एमाले कास्कीले बुधबार पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रममा सहभागी हुन मंगलबार पोखरा आएका पोखरेलले प्रमुख जिसीको निवासमै पुगेर स्वास्थ्य अवस्था बारे जानकारी लिएका हुन् ।
मंगलबार दिउँसो पोखरा आउने वित्तिकै पोखरेल जिसीलाई भेट्न उनको निवास पुगेका हुन् ।
एमाले महासचिव पोखरेलसँगै नेकपा एमालेका सचिव तथा गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पूर्व मन्त्री तथा एमालेका नेता जगत विश्वकर्मा, एमालेका नेता भीम कार्की, प्रदेश सांसद राजीव पहारी, रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, पर्वतको फेलवास नगरपालिकाका प्रमुख पदमपाणी पौडेल लगायतले प्रमुख जिसीलाई भेटेका थिए ।
भेटका क्रममा एमाले महासचिव पोखरेलले जिसीलाई ‘तपाईंलाई कस्तो छ ?’ भनेर सोध्दा जिसीले स्वास्थ्यमा क्रमिक सुधार भएको र छिट्टै निको हुने बताएका थिए ।
महासचिव पोखरेललाई जिसीले काठमाडौंमा उपचार गर्ने बेला अस्पताल बसाईंको अनुभव ठट्यौंली शैलीमा सुनाएका थिए ।
गत साउन १ गते अचानक मष्तिस्क घातभएपछि उपचारको लागि काठमाडौं जानुभएका प्रमुख जिसी गत असोज २३ गते पोखरा फर्किएका हुन् ।
फिजियोथेरापी बाहेकको अन्य उपचार पूरा भएको छ भने उनले अहिले नियमित फिजियोथेरापी गराईरहेका छन् ।










