हरिचोकको लान्द्रुक पेट्राेल पम्प र त्यस क्षेत्रमा रहेका टहरामा महानगरले डोजर चलायाे

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखराको हरिचोकमा रहेकोे लान्दु्रक पेट्रोल पम्प र त्यस क्षेत्रमा रहेका टहरामा महानगरले डोजर चलाएको छ ।
पोखरा महानगरपालिका वडा नं.१ र २ हरिचोकमा पुष्पलाल (मध्यपहाडी) राजमार्ग विस्तारको काम भइरहेको छ । सो क्रममा हरिचोकस्थित सार्वजनिक/सडकसीमा भित्र परेको जग्गा खालि नभएर सडक निर्माण कार्य अवरुद्ध भएकाले महानगरले डोजर चलाएर सडक निर्माण कार्यमा सहजीकरण गरेको हो ।

पोखरा महानगरपालिकाका नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक पुरुषोत्तम थापाको टोली, नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधिहरु, स्थानीय अगुवा, पत्रकार लगायतको उपस्थितिमा सडक निर्माणको क्रममा अवरोध सिर्जना भएको ठाउँमा विहिवार डोजर चलेको हो ।

पोखरा महानगरपालिकाका नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक पुरुषोत्तम थापाले पुष्पलाल (मध्यपहाडी) राजमार्ग विस्तारको काममा भएको अवरोध हटाउन साइट क्लियर गर्नको लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभागबाट प्राप्त पत्रअनुसार डोजर नै चलाएर साइट क्लियर गरेको बताए ।


हरिचोक टोल सुधार समितिका उपाध्यक्ष रामभक्त पाठकले केही स्थानियको अवरोधका कारणले नाला निर्माणमै ढिलाई भएको बताउँदै सडकसिमा भित्र भएका संरचना हटाउन पहल गर्दा आफूले विभिन्न आक्षेप खेप्नुपरेको उल्लेख गरे । विकास गर्नको लागि कसैले विरोध गर्न नहुने बताउँदै उनले यसतर्फ समयमै राज्यले पनि ध्यान दिन जरुरी रहेको बताए ।

विस्तारको काम भईरहेको सडक खण्डको अधिकांश स्थानमा व्यवसायहरु सञ्चालन भएकोले स्थानीयहरुले सडक निर्माण कार्यको लागि अवरोध गर्दै आईरहेका थिए ।

 


यसअघि कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले विस्तारको काम भइरहेको पुष्पलाल मध्य पहाडी लोक मार्गको क्षेत्राधिकारमा पर्ने राष्ट्रिय मावि तर्फका टहराहरू र पोखरा वडा नं.१ तर्फ रहेको लान्दु्रक पेट्रोल पम्प समेत यथाशीघ्र हटाउन चैत २६ गते निर्देशन दिएका थिए । सडकको राइटअफ वे भित्रका सबै संरचनाहरू तोकिएको समयभित्र हटाउने अन्यथा नियमानुसार कारबाही गरिने प्रमुख जिल्ला अधिकारीको निर्देशन थियो ।

तर प्रमुख जिल्ला अधिकारीको निर्देशन समेत नटेरेपछि पोखरा महानगरपालिकाकाले डोजर चलाउनुपरेको हो । २०८० फागुन ९ गते महानगरको नापी टिमबाट स्थानीय जनप्रतिनिधिहरु समेतको उपस्थितिमा त्यस स्थानको सार्वजनिक सडक क्षेत्र यकिन गरी मार्किङ समेत भएको थियो ।

हरिचोक–याम्दी २.२. कि.मी. सडक चार लेनमा स्तरोन्नति कार्यका लागि पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालय बबरमहल काठमाण्डौं र मोतिदान कन्स्ट्रक्सन सेवा प्रा.लि. महाराजगंज, काठमाडौंबीच ठेक्का सम्झौता भई निर्माण कार्य भईरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्