लिपुलेक लगायतका भू-भाग फिर्ताका लागि कूटनीतिक पहल तीव्र बनाउन विपक्षीको दबाब

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

काठमाडौँ । नेपालका विभिन्न विपक्षी दलका सांसदहरूले लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायतका नेपाली भूभाग फिर्ता ल्याउन सरकारले थप सक्रिय कूटनीतिक पहल गर्नुपर्ने माग गरेका छन् ।

सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा सांसदहरूले भारत-चीनबीच उक्त क्षेत्रलाई व्यापारिक मार्गका रूपमा प्रयोग गरिएको विषयप्रति आपत्ति जनाउँदै नेपालले आफ्नो दाबीलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका हुन् ।

बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद सन्दीप रानाले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालकै भूभाग भएको स्पष्ट पार्दै दुवै छिमेकी मुलुकसँग प्रत्यक्ष संवादमार्फत समाधान खोज्न सरकार ढिला गर्न नहुने धारणा राखे ।

त्यसैगरी नेकपा (एमाले) की सांसद भूमिका लिम्बू सुब्बाले भारतीय पक्षबाट आएको पछिल्लो प्रतिक्रियाप्रति असन्तुष्टि व्यक्त गर्दै त्यसको कूटनीतिक प्रतिवाद गर्नुपर्ने आवश्यकता औँल्याइन् । उनले राष्ट्रिय हितका विषयमा साझा धारणा बनाउन सबै राजनीतिक दलबीच छलफल आवश्यक रहेको बताइन् ।

यसैगरी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद प्रमेशकुमार हमालले सीमा अतिक्रमणका विषयमा विगतमा भएका पहललाई आधार बनाएर सरकारले थप प्रभावकारी कदम चाल्नुपर्ने सुझाव दिए ।

उनले अतिक्रमण रोकथाम र भू-भाग फिर्ताका लागि दीर्घकालीन कूटनीतिक रणनीति आवश्यक रहेको धारणा समेत राखे ।

सांसदहरूले सरकारलाई राष्ट्रिय हितसँग सम्बन्धित संवेदनशील विषयमा सबै राजनीतिक दलको सहकार्यमा एकीकृत कूटनीतिक दृष्टिकोण बनाउन आग्रह गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्