तनाव व्यवस्थापनदेखि आत्मविश्वाससम्म : पत्रकारका लागि वेलनेस हिलिङ कार्यक्रम

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा। सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशको आयोजना तथा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, जरेवर–६ शाखाको सहकार्यमा ‘सञ्चारमा वेलनेस हिलिङको महत्व’ विषयक एकदिने अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम शनिबार पोखरामा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख प्रशिक्षक ब्रह्माकुमार विजयराज सिग्देलले सञ्चार क्षेत्रमा कार्यरत व्यक्तिहरूले दैनिक रूपमा उच्च कार्यचाप, मानसिक तनाव र विविध चुनौतीको सामना गर्नुपर्ने भएकाले मानसिक सन्तुलन, सकारात्मक सोच तथा ध्यान (मेडिटेसन) लाई जीवनशैलीको अभिन्न अंग बनाउनुपर्नेमा जोड दिए। उनले वेलनेस हिलिङले मानसिक शान्ति, आत्मविश्वास, निर्णय क्षमता र कार्यदक्षता अभिवृद्धि गर्दै जिम्मेवार तथा सकारात्मक सञ्चार प्रवाहमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए।

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, जरेवर–६ शाखाकी सञ्चालिका ब्रह्माकुमारी पुनम दिदीले पत्रकारहरूको मानसिक, आत्मिक तथा भावनात्मक स्वास्थ्य सुदृढ बनाउन सञ्चारिका समूहसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताइन्। उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरिन्।

सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशकी अध्यक्ष राधिका कँडेलले सञ्चार क्षेत्रमा बढ्दो मानसिक दबाबका कारण पत्रकारहरूको मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर कार्यक्रम आयोजना गरिएको बताइन्। उनले पत्रकारहरूको क्षमता विकास र मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिइन्।

प्रशिक्षणका क्रममा सहभागीहरूलाई ध्यान अभ्यास गराउनुका साथै तनाव व्यवस्थापन, आत्मिक सशक्तीकरण र सकारात्मक सोच विकासका उपायबारे जानकारी दिइएको थियो। सहभागी पत्रकारहरूले यस्ता कार्यक्रमले मानसिक स्वास्थ्य प्रवर्द्धन, व्यावसायिक क्षमता अभिवृद्धि तथा जिम्मेवार सञ्चार संस्कृतिको विकासमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।

सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशकी अध्यक्ष राधिका कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन उपाध्यक्ष कञ्चन थापाले गरिन्। कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकार तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्