२६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

सिटी पोखरा डेक्स
  • ख-
  • ख
  • ख+

पोखरा । नेपाली फुटबलको प्रतिष्ठित प्रतियोगिता आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण आगामी २०८३ माघ ५ देखि १६ गतेसम्म पोखरामा सञ्चालन हुने भएको छ । आयोजक सहारा क्लब पोखराले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिताको मिति घोषणा गरेको हो ।

‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रूपमा स्थापित गरौँ’ भन्ने उद्घोषका साथ क्लबले प्रतियोगिता आयोजना गर्दै आएको छ ।

हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा तयारी चाउचाउको मुख्य प्रायोजन तथा पोखरा महानगरपालिकाको संरक्षकत्वमा प्रतियोगिता सञ्चालन हुँदै आएको छ । प्रतियोगितामा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टोलीको सहभागिता रहनेछ ।

पोखरामा फुटबलको विकास, खेलकुदको प्रवर्द्धन तथा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा नेपाली फुटबलको पहिचान अभिवृद्धि गर्ने उद्देश्यले आयोजना हुँदै आएको प्रतियोगिताले प्रतिभाशाली खेलाडीलाई आफ्नो खेल कौशल प्रदर्शन गर्ने अवसर प्रदान गर्दै आएको छ ।

साथै, पोखरालाई खेलकुद पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न पनि प्रतियोगिताले योगदान पुर्‍याउँदै आएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुने टोली, खेल तालिका, पुरस्कार राशि, प्रायोजक तथा अन्य विवरण सम्बन्धित समयमा सार्वजनिक गरिने क्लबले जनाएको छ । प्रतियोगितालाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न आवश्यक तयारीसमेत अघि बढाइने विज्ञप्तिमा उल्लेख छ ।

प्रतियोगितालाई सफल बनाउन विगतमा सहयोग पुर्‍याउने मुख्य प्रायोजक, सहप्रायोजक, सहयोगी संघसंस्था, खेलप्रेमी, सञ्चारकर्मी, दर्शक तथा शुभेच्छुकप्रति क्लबले आभार व्यक्त गरेको छ । आगामी संस्करणलाई पनि सफल बनाउन सबैको सहयोग, सद्भाव र सहभागिताका लागि क्लबले आग्रह गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्