काठमाडौं । जलवायु परिवर्तनका कारण भएको क्षति सम्बोधन गर्न स्थापना गरिएको हानि–नोक्सानी कोषले नेपाललाई २ करोड अमेरिकी डलर अर्थात् करिब ३ अर्ब २ करोड रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय गरेको छ।
कृषि, वन तथा वातावरण मन्त्रालयका अनुसार भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि उक्त रकम उपलब्ध गराउन लागिएको हो।
गत अगस्ट २६ मा आएको बाढीका कारण १ हजार ५०० भन्दा बढीको ज्यान गएको, ५ हजारभन्दा बढी बेपत्ता भएको र १५ हजारभन्दा बढी परिवारका ६० हजारभन्दा धेरै मानिस प्रत्यक्ष प्रभावित भएको मन्त्रालयले जनाएको छ।
बाढीबाट भएको प्रारम्भिक आर्थिक क्षति करिब २ अर्ब ७० करोड अमेरिकी डलर अर्थात् ४ खर्ब ७ अर्ब ७० करोड रुपैयाँ बराबर रहेको अनुमान छ। पुनर्निर्माणका लागि भने करिब ४ अर्ब ७० करोड अमेरिकी डलर अर्थात् ७ खर्ब ९ अर्ब ७० करोड रुपैयाँ आवश्यक पर्ने आकलन गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा तत्काल सहयोग पुर्याउन नेपालले गत अगस्ट ३१ मा कोषको बोर्डसमक्ष विशेष अनुरोध गरेको थियो। विभिन्न राष्ट्र तथा क्षेत्रीय समूहका प्रतिनिधिबीच भएको छलफलपछि अक्टोबर २२ मा बसेको कोषको विशेष बैठकले नेपाललाई अनुदान सहयोग उपलब्ध गराउने निर्णय गरेको मन्त्रालयका सहसचिव डा. महेश्वर ढकालले जानकारी दिएका छन्।
कोषबाट रकम प्राप्त गर्न नेपालले बार्बाडोस कार्यान्वयन ढाँचाअन्तर्गत विस्तृत परियोजना प्रस्ताव तयार गरी पेस गर्नुपर्नेछ।
यसैबीच, हानि–नोक्सानी कोषको ११औँ बोर्ड बैठक सन् २०२७ मार्च १७ देखि १९ सम्म काठमाडौंमा आयोजना हुने मन्त्रालयले जनाएको छ।









