काठमाडौं । वेबसाइट निर्माणमा व्यापक प्रयोग हुने प्रोग्रामिङ भाषा पीएचपी (PHP) मा गम्भीर सुरक्षा त्रुटि फेला परेपछि विश्वभर साइबर सुरक्षा सतर्कता बढाइएको छ । कृत्रिम बुद्धिमत्ता (एआई) को सहयोगमा पत्ता लागेको उक्त त्रुटिले लाखौँ वेबसाइट जोखिममा पर्न सक्ने देखिएको छ ।
वर्डप्रेस, विकिपिडिया र अनलाइन सपिङ प्लेटफर्मलगायतका वेबसाइटमा प्रयोग हुने पीएचपीको कमजोरीबाट ह्याकरले प्रभावित सर्भरमा अनधिकृत पहुँच बनाई संवेदनशील तथ्यांक चोरी गर्न सक्ने जोखिम छ ।
सुरक्षा जोखिमलाई ध्यानमा राख्दै विकिमिडिया, फिनल्यान्ड सरकार र बीबीसीसहित विभिन्न संस्था तथा निकायले आफ्ना केही वेबसाइट र प्रणाली अस्थायी रूपमा बन्द गरेका छन् । नेपालमा पनि केही सरकारी वेबसाइट बन्द गरिएको छ ।
पीएचपीका विकासकर्ताले सुरक्षा त्रुटि समाधान गर्न नयाँ अपडेट जारी गर्दै तत्काल अद्यावधिक गर्न आग्रह गरेका छन् । तत्काल अपडेट गर्न नसक्ने संस्थालाई जोखिम नियन्त्रण नभएसम्म वेबसाइट अफलाइन राख्न सुरक्षा निकायले सुझाव दिएका छन् ।
यस घटनाले एआईले साइबर सुरक्षाका कमजोरी पत्ता लगाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने देखाए पनि यही प्रविधिको दुरुपयोगबाट साइबर आक्रमण तीव्र हुन सक्ने जोखिमसमेत उजागर गरेको छ ।









