चक्रवात ‘अर्नब’को प्रभाव : आजदेखि वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

सिटी पोखरा डेक्स
  • ख-
  • ख
  • ख+

पाेखरा । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को आंशिक प्रभावले नेपालका विभिन्न स्थानमा आजदेखि वर्षा र हिमपात हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कात्तिक १२ गते साँझदेखि १४ गतेसम्म देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ।

महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा वर्षा हुने सम्भावना छ। यी प्रदेशका केही स्थानमा भारी वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा पनि वर्षा, हिमपात र असिनाको सम्भावना रहेको छ।

चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेश र यानमको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गरेपछि क्रमशः कमजोर हुँदै गएको छ। यद्यपि, यसबाट उत्पन्न जलवाष्पयुक्त हावा र माथिल्लो वायुमण्डलमा रहेको मौसम प्रणालीको प्रभावले नेपालमा वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

विशेषगरी उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेको छ। वर्षा र हिमपातका कारण चिसो बढ्नुका साथै पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने सम्भावना पनि रहेको छ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै महाशाखाले किसानलाई धानबाली सुरक्षित राख्न तथा सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। कात्तिक १४ गतेसम्म उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न र त्यस्ता क्षेत्रमा पुगिसकेका पर्यटकलाई सुरक्षित स्थानमा रहनसमेत अनुरोध गरिएको छ।

महाशाखाले मौसमको अवस्थाबारे नियमित जानकारी लिन र सम्भावित जोखिमबाट बच्न आवश्यक पूर्वतयारी गर्न सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ।

स्रोत : मौसम पूर्वानुमान महाशाखाको विवरण

तस्विर : माैसमविद विनाेद पाेख्रेलकाे फेसबुक वालबाट

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्